हार टार्न संघर्षरत हस्तीहरु

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते १:४५ मा प्रकाशित

sushil-jn
काठमाण्डु–अघिल्लो संविधानसभा चुनावमा नेकपा एमाले र नेपाली कांग्रेसका हस्तीहरुले अनपेक्षित हार बेहोरेका थिए । नपत्याएको खोलाले बगाउँछ भने जस्तै दुबै पार्टीका मुख्य नेताहरुले नराम्रो पराजय बेहोरेका थिए । अहिले पनि ती प्रायः सबै हस्ती उही पुरानै निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । केहीको रोजाईमा नयाँ क्षेत्र पनि थपिएका छन् । तर यसपटक पनि उनीहरुको जित संकटमा देखिएको छ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला, महामन्त्री कृष्णप्रसाद सिटौला, तत्कालिन महासचिव एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेता के पी ओली लगायतका नेता केही पुरानै क्षेत्रबाट चुनावी प्रतिष्प्रधामा उत्रिएका छन् भने केही सुरक्षित स्थानको खोजिमा क्षेत्र परिवर्तन गरेका छन् । कसैले एक ठाउँ पराजित भए अर्को ठाउँ त छदैछ भन्दै दुई ठाउँलाई चुनावी थलो बनाएका छन् ।
२०६४ को संविधानसभा चुनावमा बाँके क्षेत्र नम्बर ३ बाट मधेसी जनअधिकार फोरम नेपालका सर्वदेव ओझासँग ८ हजार ९ सय ३१ मतको फराकिलो अन्तरले हारेर तेस्रो भएका कांग्रेस सभापति सुशील कोइराला अहिले पनि बाँके क्षेत्र नम्बर ३ बाटै चुनाव लड्दैछन् । त्यतिबेला नेकपा माओवादीका परमान्द कुर्मीले ६ हजार ९ सय ७० मत प्राप्त गरी दोस्रो भएका थिए । त्यसतिबेला जित हात पारेका ओझा अहिले स्वतन्त्रबाट चुनाव लड्दैछन् भने माओवादीले दामोदर आचार्यलाई अघि सारेको छ । एमालेका विजया धिताल तथा राप्रपा नेपालका डा. धवल शमशेर राणा मुख्य प्रतिष्प्रर्धीको रुपमा बाँके ३ को चुनावी मैदानमा छन् । जसले गर्दा कोइरालाको सिट धरापमा देखिन्छ ।
बाँके ३ को विकल्पमा चितवन ४ रोजेका कोइरालाका लागि त्यहाँको मुख्य चुनौती आप्mनै पार्टीका बागी उम्मेदवार विकास कोइराला भएका छन् । एक स्थानीय कांग्रेस नेताका अनुसार कांग्रेसका पूर्व जिल्ला सभापति विकास कोइरालाको पकड राम्रो छ, तर जितका लागि होइन, सुशील कोइरालालाई हराउनका लागि । चितवन–४ पहिले माओवादीका चित्रबहादुर श्रेष्ठले जितेको क्षेत्र हो । जहाँ श्रेष्ठले २३ हजार ९ सय ४२ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका टेकप्रसाद गुरुङले १८ हजार ९० मत पाएका थिए । त्यहाँ एमाओवादीले अहिले पनि श्रेष्ठलाई नै अघि सारेको छ भने एमालेकी पार्वती रावल चुनावी मैदानमा छिन् ।Krishana-Prasad-Sitaula
यसअघि गृहमन्त्री भएको बेला झापा ३ बाट पराजित कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला अहिले पनि त्यही क्षेत्रबाट चुनाव लड्दैछन् । पहिले उनी माओवादीका पूर्णप्रसाद राजबंशीसँग २ हजार ६ सय ३६ मत अन्तरले हारेका थिए । अहिले उनले मुख्य प्रतिद्धन्द्धीको रुपमा त्यतिबेला कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई पराजित गरेकी एमाओवादीकी धर्मशिला चापागाँईलाई पाएका छन् । त्यसैले सिटौलाको क्षेत्र पनि सुरक्षित देखिदैन ।
पहिले रौतहट ६ र काठमाण्डौ २ दुबै क्षेत्रबाट हारेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल अहिले रौतहटको एक नम्बर तिर लागेका छन् भने काठमाण्डुको पुरानै क्षेत्रलाई राजेका छन् । oli-madhavपहिले उनका लागि दुबै क्षेत्रमा माओवादी तगारो बनेको थियो । उनी रौटहटमा माओवादीका देवेन्द्र पटेलसँग १ हजार ३ सय ४७ र काठमाण्डुबाट झक्कु सुवेदीसँग १ हजार ५ सय ३३ मत अन्तरले हारेका थिए । हाल उनले रौतहटमा एमाओवादीका राजकिसोर यादव र कांग्रेसका सन्तलाल साहलाई मुख्य प्रतिद्धन्दी पाएका छन् ।
तर विगतमा संविधान निर्माणमा उनको महत्वलाई आत्मसात गर्दै माओवादीको सहयोगमा सभासद् हुँदै संवैधानिक समितिको सभापति र प्रधानमन्त्री समेत बन्न सफल भएकाले अहिलेको चुनावमा जित्न सक्ने उनको आत्म विश्वास देखिन्छ । तर पहिले खासै चर्चामा नरहेका  सुवेदीसँग समेत हारेका नेपालले अहिले लिलामणी पोख्रेल जस्तो कडा प्रतिद्धन्दी पाएका छन् । त्यसैले पनि उनको जित कर्दको धारमा छ ।
यस्तै हार टार्न संघर्षरत छन् एमालेका उपाध्यक्ष बामदेव गौतम र सचिव विष्णु पौडेल पनि । पहिले बर्दिया १ बाट नेकपा माओवादीकी सरला रेग्मीसँग ४ हजार १ सय ८२ मत अन्तरले हारेका गौतमको पहिलो रोजाई बर्दियाको सोही क्षेत्र र अर्को रोजाई भएको छ प्यूठान क्षेत्र नम्बर १ पनि । bamdevथारु समुदायको बाहुल्यता रहेको बर्दियामा उनीसँग एमाओवादीका भुवन थारु र नेपाली कांग्रेसका भूवनेश्वर थारुले प्रतिष्प्रर्धा गर्दैछन् । अनि पहिले एमाओवादीले जितेको प्यूठानमा एमाले तेस्रो भएको थियो । गौतमको गृह जिल्ला प्यूठानमा उनको मुख्य प्रतिष्प्रधी एमाओवादीका स्थानीय नवराज सुवेदी र आप्mनो पकड रहेको ठान्ने राष्ट्रिय जनमोर्चा छ । जनमोर्चाका हुकुम बहादुर विष्ट चुनावी मैदानमा छन् ।
हरुवा मात्र होइन पहिले आफैले जितेको रुपन्देही–४ एमालेका सचिव विष्णु पौडेलका लागि आप्mनो उम्मेदवारी निल्नु न ओकल्नु भएको छ । कारण एकीकृत माओवादीका प्रभावशाली नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराई प्रतिष्प्रर्धी भइदिए । आप्mनो आधार किल्ला भत्किने डरले अहिले एमालेमा खैलावैला मच्चिन थालेको विष्लेषण हुन थालेको छ ।
गएको संविधानसभा चुनावमा पौडेलले १५ हजार ७ सय ८० मत पाउँदा माओवादीका भक्ति पाण्डेले १३ हजार ४ सय २१ मत पाएका थिए । तर अहिले २२ हजार ५ सय ९२ मतदाता घटेका छन् । बुटवलको वडा नम्बर १३ को सुकुम्वासी बस्तीमा १० हजार ३ सय ५७ मतदाता छन् । जहाँ प्रधानमन्त्री भएका बेला बास बस्न गएर भटराईले सुकुम्वासीको मन जितेकोले पनि पौडेलको उम्मेदवारी संकटमा परेको अनुमान गरिएको छ ।
सोचेजस्तो सहज स्थिति एमालेले जितिरहेको ठाउँ इलाममा पनि छैन । संघीयताका विषयमा एमालेसँग असन्तुष्ट भएर गठन गरिएको एमालेकै नेताहरु रहेको संघीय समाजवादी पार्टीबाट इलाम १ अध्यक्ष झलनाथ खनालका लागि र क्षेत्र नम्बर २ संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गका लागि असुरक्षित रहेको बताइएको छ । एकल जातीय संघीयताको पक्षमा खरो उत्रीएको पूर्वी इलाम अध्यक्ष खनाल र नेम्वाङ्ग त्यसको खुंखार विरोधी भएकाले पनि इलाम अव एमालेका लागि असुरक्षित भएको विष्लेषकहरु बताउँछन् । तर चुनाव हो, विष्लेषण गरिए जस्तो नतिजा नआउन पनि सक्छ । तर पनि पहिले हारेका र जितको खोजिमा नयाँ क्षेत्र रोजेका कांग्रेस र एमालेका हस्तीहरुका लागि अहिलेको चुनाव निक्कै निरासाजनक हुन सक्ने देखिन्छ ।
हुनत यसअघि मुख्य प्रतिष्पर्धी एकीकृत माओवादी भएको र अहिले माओवादी पार्टी फुटेकाले उनीहरुलाई हौसला मिलेको हुन सक्छ । तर पनि एमाओवादीका शिर्ष नेताहरु केही सुरक्षित भए पनि कांग्रेस र एमालेका लागि चुनाव चुनौतीपूर्ण हुने देखिएको छ । बाँकी परिणामका लागि मंसिर ४ नै कुर्नु पर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us