आमहड्ताल फिर्ता लिन आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १४:५२ मा प्रकाशित

FNCCIकाठमाण्डु, २२ कात्तिक– नेपाल उद्योग वाणीज्य महासंघको प्रतिनिधि मण्डलले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटी कात्तिक २५ गतेदेखि सो पार्टीले गर्ने भनिएको आमहड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष सुरज वैद्य, उपाध्यक्ष भाष्करराज राजकर्णिकार लगायतको टोली माओवादी पार्टी कार्यालय बुद्धनगरमा पुगी माओवादी अध्यक्ष वैद्य र सचिव देव गुरुङलाई भेटी आमहड्ताल फिर्ता लिन आग्रह गरेको हो ।

भेटपछि महासंघका अध्यक्ष वैद्यले देशको आर्थिक अवस्था कमजोर भइरहेको बेला आमहड्ताल हुँदा आर्थिक अवस्था झन् विकराल हुने भएकाले बन्द फिर्ता लिन आग्रह गरेको बताए । बन्दलगायतका कार्यक्रमले देशमा भित्रने सम्भावित विदेशी लगानी रोकिने तथा देशको आर्थिक अवस्था धारासयी हुने भएकोले सहमति कायम गरी समस्याको समाधान निकाल्न आफूहरुले आग्रह गरेको महासंघका अध्यक्ष वैद्यको जानकारी दिए ।

माओवादी सचिव देव गुरुङले आफूहरु पनि शान्तिपूर्ण ढङ्गले समस्याको समाधान होस् भन्ने चाहना रहेको र सहमतिबाट समस्याको समाधान भए बन्दलगायतका कार्यक्रम फिर्ता लिनसकिने धारणा महासंघका प्रतिनिधि मण्डल समक्ष राखेको बताए । उनले सहमतिका आधारमा निर्वाचन गरिनुपर्ने र त्यसका लागि महासंघका तर्फबाट पनि भूमिका खेल्न महासंघका प्रतिनिधि मण्डलसँग आग्रह गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us