उपराष्ट्रपतिको चियापानमा राष्ट्रपति

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १२:४० मा प्रकाशित

rambaranकाठमाण्डु, २२ कात्तिक– राष्ट्रपति डा. रामवरण यादव छठ पर्वको उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले आयोजना गरेको चियापान समारोहमा सहभागी भएका छन् ।

उपराष्ट्रपतिको कार्यालय कान्तिपथमा आज आयोजित सो समारोहमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, संवैधानिक निकायका पदाधिकारी, विभिन्न देशका राजदूत,  कूटनीतिक नियोगका प्रमुख र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थिए । चियापान समारोहमा उद्योगपति, कलाकार, पत्रकार र समाजका विभिन्न पेसामा आवद्ध व्यक्तिहरुको पनि सहभागिता थियो ।

समारोहमा उपराष्ट्रपति झाले पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सदभावना पर्वको रूपमा मनाइने यो पर्वले धेरै हदसम्म मधेस र पहाडलाई जोडेको छ भने । देशवासीहरू एक आपसमा मिलेर मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचन सम्पन्न गरुन् र असल देश हाँक्ने नेताहरूको हातमा शासन जाओस् भन्ने कामना पनि उनले गरे ।

दर्जनौं पोखरीमा आराधना

जनकपुरधाम– आस्थाको महापर्व छठ पर्वअन्तर्गत श्रद्धालुहरुले शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा अर्चना गरे । श्रद्धालुहरु यहाँका इतिहास वर्णित सरोवर गङ्गा सागर, धनुष सागर, रतन सागर, अरगजा सर, अग्निकुण्ड, महाराज सागरलगायत दर्जनौँ पोखरी तथा तलाउमा अर्घ सामग्री लिई सूर्यलाई आराधना गरे ।

अर्घ सामग्रीमा ठेकुआ, कसार, केरा, उखु, मेवा, मिष्ठान्न, गेडागुडी, कन्दमुल र विभिन्न खाद्य वनस्पति राखिने चलन छ । परिवारमा सुख शान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको कामना पूरा होस् भन्ने कामनासहित यो पर्व मनाउने चलन रहेको छ ।

सो अवसरमा जनकपुरधामका पोखरीहरुमा दशदेखि पन्ध्र हजार व्रतालुबाहेक ८० हजारदेखि एक लाखको हाराहारीमा श्रद्धालु पूजा अर्चनामा सहभागी हुने गरेका कारण नेपालमा जनकपुरको छठ प्रसिद्ध छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने यस पर्वको विशेषता रहेको छ ।

छठ पर्व समारोह

राष्ट्रपति डा. रामवरण यादव छठ पर्वको उपलक्ष्यमा रानीपोखरी परिसरमा पुगेर आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरे । सो अवसरमा आयोजित समारोहमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी संविधानसभा निर्वाचनमा आफ्नो बुद्धि विवेक र विचारका आधारमा रोजेको दल तथा उम्मेदवारलाई मतदान गरी जनप्रतिनिधि चयन गर्न आग्रह गरे ।

महापर्व छठ समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले आगामी मङ्सिर ४ गते हुने सो निर्वाचनका लागि सरकार दृढतापूर्वक लागिपरेको बताउँदै स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा जनसहभागितासहित समावेसी निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरिसकेको पनि जानकारी दिए ।

ऊर्जामन्त्री उमाकान्त झाले उदाउँदो र अस्ताउँदो सूर्यलाई पूजा गर्ने यो पर्व विश्वमै दुर्लभ खालको पर्व भएको र यस्ता पर्वबाट ऊर्जा प्राप्त हुनाका साथै दीर्घायु र रोगबाट बच्न सक्ने क्षमता अभिवृद्धि हुने उल्लेख गरे । सो अवसरमा छठ पर्वमा उल्लेखनीय योगदान पु¥याउने विभिन्न व्यक्तिलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us