कर्मचारी र सुरक्षाकर्मीलाई तटस्थ हुन प्रचण्डको आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ११:३९ मा प्रकाशित

Prachanda in Birtamode.jpg 2रौतहट, २२ कात्तिक– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले केही स्थानहरुमा सुरक्षाकर्मी र अन्य कर्मचारीले उम्मेदवारको पक्षमा गतिविधि गरेको सुन्नमा आएको बताउँदै त्यस्ता गतिविधि रोक्न आग्रह गरेका छन् ।

मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत शुक्रवार रौतहटको चन्द्रनिगाहापूरमा आयोजित जनसभामा प्रचण्डले भने, ‘कतिपय निर्वाचन क्षेत्रहरुमा तटस्थता उल्लंघन गर्दै केही कर्मचारीहरु र सुरक्षाकर्मीहरुले काम गरिरहेको सुनेको छु, त्यस्तो गतिविधि तत्काल रोकियोस् ।’

अर्को एक प्रसंगमा प्रचण्डले मंसिर ४ को चुनावमा एकीकृत माओवादीको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरे । मेची महाकाली राष्ट्रिय जागरण अभियानको क्रममा तराई–मधेशमा उर्लिएको जनलहरबाट विपक्षीहरु अत्तालिइसकेको भन्दै प्रचण्डले अब एमाओवादीले स्पष्ट बहुमतको स्थिर सरकार बनाउने बताए ।

दुई उम्मेदवारसहित सयौं नेता–कार्यकर्ता एमाओवादीमा प्रवेश

मेचीमहाकाली राष्ट्रिय जागरण अभियानको क्रममा विभिन्न पार्टीका तीन उम्मेदवारसहित सयौंको संख्यामा नेता तथा कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

अभियनका क्रममा संघीय समाजवादी पार्टीबाट रौतहट क्षेत्र नं ४ का प्रत्यक्ष उम्मेदवार देवलाल राम एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । यसैगरी सोही कार्यक्रममा शिव सेना नेपालको तर्फबाट रौतहट क्षेत्र नं ५ का उम्मेदवार दुर्गा पासवान पनि एमाओवादीमा प्रवेश गरेका छन् ।

त्यस्तै वाराका निजगढमा आयोजित जनसभामा चुरेभावर राष्ट्रिय पाटीका केन्द्रीय सदस्य चुनलाल श्रेष्ठ पनि एकीकृत माओवादीमा प्रवेश गरेका छन् । सोही कार्यक्रममा एमाले काँग्रेस लगायत विभिन्न दलका ४ सय ५० भन्दा बढी कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् ।

यसैगरी रौतहटको चन्द्रनिगाहापूरमा एमाले, मधेशी जनअधिकार फोरम लगायतका पार्टी परित्याग गरी ५० जनाभन्दा बढी कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् ।

त्यस्तै सर्लाहीको लालबन्दीमा पनि काँगे्रस एमाले परित्याग गरी १ दर्जन कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us