
काठमाण्डु, २३ कात्तिक–काँग्रेस परित्याग गरी काठमाण्डु–४बाट स्वतन्त्र उम्मेदवार बनेकी पूर्व सभासद सुप्रभा घिमिरेको निर्वाचन प्रचार अभियानमा खटिएको टोली माथि सोही क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार बनेका गगन थापाको प्रचार अभियानमा खटिएको टोलीले आक्रमण गरेको छ ।
काठमाण्डुको कपनस्थित राम मन्दिर नजिक दुवै उम्मेदवारका प्रचार टोली वीच जम्काभेट हुँदा आक्रमण भएको हो । थापाको टोलीले आफना प्रचार सामग्री नष्ट गरिदिएको गुनासो उनले गरेकी छिन । काठमाण्डु निर्वाचन क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार सुप्रभा घिमिरेले निःस्वार्थ देशभक्तहरुको संलग्नतामा सङ्घीय समाजवादी लोकतान्त्रिक सङ्गठन गठन गरिने जानकारी दिएकी छिन ।
पूर्वसभासद् घिमिरेले महिला समुदायको राजनीतिमा पहुँच पुर्याउन आफूले योगदान गर्ने दृढता व्यक्त गरेकी हुन । आफूले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली काँग्रेसले फिर्ता लिन ठूलो दबाब दिएको भए पनि त्यस क्षेत्रका जनताको सेवा तथा अधिकार संरक्षण गर्न आफूले उम्मेदवारी कायमै राखेको उनले बताइन ।
नेत्री घिमिरेले आर्थिक रुपले विपन्न वर्गका सन्तानका लागि शैक्षिक तथा रोजगारीका योजना आफूसँग रहेको पनि बताइन । उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसबाट विजयी बन्नुभएको थियो ।