प्रमुख निर्वाचन आयुक्त चिन्तित

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ९:२४ मा प्रकाशित

nilkantha upretiकाठमाण्डु, २२ कात्तिक– प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्वाचनमा भाग लिएका दलहरुबीच नै झडप हुँदा अन्य तत्वले फाइदा उठाउने भन्दै चिन्तित भएको बताएका छन् । उनले भने, ‘मलाई त निर्वाचनमा भाग लिएका दलहरुबीच झडप हुँदा अरु तत्वले फाइदा लिन्छन् कि भन्ने चिन्ता लागेको छ ।’

अर्काे संविधानसभाको निर्वाचनको मुखमा आएर भौतिक लडाईंमा नउत्रन राजनीतिक दलहरुलाई आग्रह गर्दै प्रमुख आयुक्त उप्रेतीले निर्वाचनमा भाग लिएका दल तथा तिनका उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा भौतिकभन्दा बौद्धिक लडाईंले नै बढी सफलता एवम् फाइदा पुर्‍याउने बताए । निर्वाचनका मुखमा आएर एकाध स्थानमा दलहरुबीच अस्वस्थ प्रतिस्पर्धाका घटना हुँदा आयोगलाई चिन्ता लागेको उनको भनाई थियो ।

आचारसंहिता उल्लङ्घन कार्य तत्काल रोक्न बुझाएको नेपाली काँग्रेसको ज्ञापनपत्र ग्रहण गर्दैै उनले दलहरुबीच भौतिक भिडन्त हुन नहुने उल्लेख गरेका हुन् । ‘राजनीतिक दलका शीर्ष नेताहरुसँग आफूले कुराकानी गर्दा निर्वाचनमा स्वच्छ र बौद्धिक प्रतिस्पर्धा हुन्छ भन्नुहुन्छ तर, त्यो सन्देश तल्ला तहमा पुर्‍याउनुभएन अथवा पुर्‍याउन चाहनुभएन भन्ने मैले बुझ्न सकिरहेको छैन’, प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने ।

नेपाली काँग्रेसले चारबुँदे ज्ञापनपत्र प्रमुख आयुक्त उप्रेतीलाई बुझाउँदै निर्वाचन मिति नजिकिँदै गर्दा मुलुकभर निर्वाचन आयोगबाट जारी गरिएका आचारसंहिताको व्यापक उल्लङ्घनसँगै गम्भीर प्रकृतिका अपराधजन्य घटनाहरु वृद्धि भइराखेकाले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us