
सर्लाही, २२ कात्तिक–एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा लागेको एमाले–काँग्रेसलाई बढार्दै यसपटक एमाओवादीलाई पूर्ण बहुमतका साथ विजयी बनाउन आग्रह गरेका छन ।
सर्लाहीको लालवन्दीमा शुक्रवार भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले सबैभन्दा बढी संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा एमालेका झलनाथ र केपी ओली नै हुन् भने ।
झलनाथ खनालसँग सल्लाह गरेर पूर्व प्रधानसेनापति रुक्माङगत कटवाललाई कार्वाही गर्न चालिएको कदम स्मरण गराउँदै प्रचण्डले पहिला सहमति जनाएका खनालले धोका दिएर राष्ट्रपति डा रामवरण यादव समक्ष विन्ती भाउ गरेर धोका दिएको बताए । एमाले अध्यक्ष झलनाथ कम्युनिष्टको नक्कली खोल ओढेका एक नम्वरका विश्वासघाती र कुनै अडान नभएको एक नम्वरको मान्छे भएको आरोप पनि प्रचण्डले लगाए । प्रचण्डले गणतन्त्र र संघीयता विरोधीहरुलाई जनताले नै लतारेर जवरजस्त गणतन्त्र र संघीयता मान्न बाध्य बनाएको पनि बताए ।
सर्लाहीका ६ वटै निर्वाचन क्षेत्रका एमाओवादीका उम्मेद्वारलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्दै प्रचण्डले सर्लाहीका जनताको अधिकार र न्यायको लागि एमाओवादीलाई स्पष्ट बहुमत हुनैपर्ने कुरामा जोड दिए । ‘तपाई सर्लाहीका जनता यसपटक दिल खोलेर एमाओवादीलाई भोट हाल्नुस्, नयाँ संविधान दिने कुरा, विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढाउने कुरामा जिम्मेवारी हामी लिन्छौं’प्रचण्डले भने ।
महोत्तरीको बर्दिवासमा भएको अर्को चुनावी सभालाई सम्वोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले आफुहरु देशको पूरै जिम्मा लिन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको अभियानमा आएको बताए । त्यसका लागि नेपाली जनताले सजग र सचेत भएर एमाओवादीलाई नै भोट हाल्ने उनको बिश्वास थियो ।
प्रचण्डलाई लक्षित गरी ठाउँ ठाउँमा रुख ढालेर अवरोध सिर्जना गरिएको छ । ठाउँ ठाउँमा शंकास्पद वस्तु पनि राखिएको नेपाली सेनाले निष्क्रिय बनाएको छ ।