‘माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउँछौं’

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ७:०६ मा प्रकाशित

Madhav-Kumar-nepalकाठमाण्डु, २२ कात्तिक–नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले चुनाव सम्पन्न भए पछि पनि नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रियामा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

शुक्रबार काठमाण्डुमा भएको पत्रकार भेटघाटमा उनले नेकपा–माओवादीलाई संविधान निर्माण प्रक्रिया भन्दा बाहिर राख्नै नहुने तर्क गरे । ‘वैद्य माओवादीलाई संविधान लेखन प्रक्रियामा ल्याउनै पर्छ,’ नेपालले भने, ‘मैले हिजो पनि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेकै हो । अब पनि निर्वाचन पछि संविधान निर्माणको प्रक्रियामा ल्याउन भूमिका खेल्छु ।’

रिपोर्टर्स क्लब नेपालको टोलीसँग भएको भेटमा नेपालले माओवादीलाई संविधान निर्माण प्रकृयामा कसरी सहभागी गराउने भन्ने विषयमा अब दलहरुबीच छलफल शुरु हुने जानकारी दिए ।

नेपालले पार्टीहरु आन्तरिक र बैचारिक रुपान्तरणको द्वन्द्वमा रहेको कारण विगतमा आवश्यक निर्णय लिन ढिलाई भएका कारण अहिलेको अवस्था आएको गुनासो समेत गरे ।
संविधान निर्माणका विवादित विषयमा सहमति नभए जनमत संग्रहको माध्यमबाट विवादित विषय टुङ्ग्याउने भएकोले जनताको मतलाई माओवादीले पनि स्विकार्नु पर्ने उल्लेख गर्दै उनले जनताको मतको विरुद्ध जाने दल आफै सकिने चेतावनी पनि दिए ।

उनले एकीकृत नेकपा माओवादी पनि माओवादीलाई देखाएर निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आशंका ब्यक्त गर्दै त्यसको प्रमाण स्वरुप वज्रयोगिनी, साँखु लगायतका स्थानमा एमाओवादीले क्याम्पै खडा गरेर डे«समा वाईसीएललाई राखेर मार्चपास गराएको घटनाले आशंकालाई बल पुर्याएको बताए ।

नेपालले भने–‘एमाओवादी हार्ने देखेर कि बुथ लुट्न कि मतदातालाई आतंकीत बनाएर जित्न चाहन्छ । उ हार्ने निश्चित भए उसले यसैलाई प्रयोग गरेर निर्वाचन विथोल्ने आशंका मलाई लागेको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us