एमाओवादी विरुद्ध काँग्रेसको उजुरी

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ७:०७ मा प्रकाशित

Nepali-Congress-Party-Officeकाठमाण्डु, २२ कात्तिक–एकीकृत नेकपा माओवादीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ । मेची–महाकाली राष्ट्रिय जागरण अभियानको नाममा आचारसंहिता पालना नगरेको भन्दै काँग्रेसले आयोगमा उजुरी दर्ता गरेको हो ।

काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, राजन पन्त लगायतको टोलीले प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती र आयुक्त दोलख बहादुर गुरुङलाई शुक्रबार आयोगको कार्यालयमा भेटेर उजुरी दिएको हो ।

काँग्रेसले चुनाव अनुगमन गर्न केन्द्र र जिल्ला तहमा ‘संविधानसभा सदस्य निर्वाचन २०७० आचार संहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ गठन गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा हुन् । विश्वकर्मा काठमाण्डु उपत्यका बाहिर रहेकाले पाण्डेसहितका नेताहरु शुक्रबार आयोगको कार्यालय पुगेका थिए ।

‘केन्द्रमा भएका आचार संहिता उल्लंघनबारे आयोगको ध्यानाकर्षण गरायौं,’ समितिका सदस्य सचिव केशव रिजालले भने, ‘मेची–महाकाली अभियानको नाममा भैरहेका गतिविधिले आचार संहिता उल्लंघन गरेको छ ।’

झापाको काँकडभिट्टाबाट गत बुधबारदेखि एकीकृत माओवादीले शुरु गरेको जागरण अभियानमा सवारी साधन र झण्डा ब्यानरको अत्यधिक प्रयोग, कार्यकर्तालाई भोजभतेर, काठमाण्डुका एमाओवादी निकट सन्चार माध्यमले कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेर आचार संहिता उल्लंघन गरेको काँग्रेसको ठहर छ ।

काँग्रेसले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले माओवादी निकटका क्लबलाई खेलकुदका सामग्री बाँडेको पनि आरोप लगाएको छ । ‘केही टिभीले माओवादीको कार्यक्रमलाई ‘सपोर्ट’ हुने गरी कार्यक्रम प्रसारण गरेका छन् । माओवादीबाट नियुक्त खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले समेत खेलकुद सामाग्री बाँडेका छन्,’ रिजालले भने, ‘केन्द्रमा भैरहेका यी सबै गतिविधि रोक्न भन्यौं, उहाँहरुले पनि आजै बैठक बसेर आवश्यक निर्णय गर्ने बताउनु भएको छ ।’ भेटमा प्रमुख आयुक्त उप्रेतीले आयोगले यसमा ध्यान दिइरहेको भन्दै आवश्यक कदम चाल्ने बताएको सदस्य सचिव रिजालको भनाइ थियो ।

विरोधपत्र बुझाउन काँग्रेस नेताहरु सुरेन्द्र पाण्डे, राजन प्रसाद पन्त, भरत राज खरेल, सिताराम केसी, केशव रिजाल, हरिहर विरही सहितको टोली आयोग कार्यालय कान्तिपथ पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us