बर्डफ्लुपीडित कृषकलाई छ करोड क्षतिपूर्ति

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ५:५९ मा प्रकाशित

भक्तपुर, २२ कात्तिक–बर्डफ्लु सङ्कटग्रस्तक्षेत्र घोषणापछि नष्ट गरिएका कुखुरा तथा कुखुराजन्य पदार्थको क्षतिपूर्ति रकम सरकारले कुखुरापालक कृषकलाई वितरण गर्न थालेको छ । जिल्ला पशुसेवा कार्यालय भक्तपुरले बर्डफ्लुको संक्रमणबाट नष्ट भएका कुखुराका धनीलाई छ करोड रुपैयाँ वितरण गरिएको कार्यालय प्रमुख खगेन्द्रराज भट्टले जानकारी दिए ।

क्षतिपूर्ति वितरणका लागि सरकारबाट १३ करोड २९ लाख रुपैयाँ आएकामा अहिलेसम्म जिल्लाका ३६० कृषकलाई क्षतिपूर्ति दिइसकेको छ । प्रचलित नियमअनुसार नै सरकारले प्रतिगोटा क्रमशः ब्रोइलर कुखुराको १३०, प्यारेन्ट कुखुराको २५०, चल्लाको ५०, अण्डाको ३, दाना प्रतिकेजीको १० र मासुको प्रतिकेजीको १०० रुपैयाँका दरले क्षतिपूर्ति रकम वितरण गरेको छ ।

क्षतिपूर्ति रकम लिनका लागि ह्याचरी सञ्चालकले दर्ता प्रमाणपत्र, विदेशबाट प्यारेन्ट चल्ला ल्याएको प्रमाण, कर तिरेको प्रमाणलगायत कागजपत्र तथा कुखुरा फार्म सञ्चालकका हकमा भने फार्म दर्ताको प्रमाणपत्र र कर तिरेको प्रमाणपत्र पेस गर्नुपर्ने नियम छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us