
कञ्चनपुर, २२ कात्तिक–कञ्चनपुरको कालागौंडी क्षेत्रबाट अपहरणमा परेका पिपलाडी–७ असैनाका २४ वर्षीय मनोहर चन्द बाँकेको नेपालगन्जमा फेला परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र हुँदै अपहरणकारीहरुले चन्दलाई बाँके पुर्याएर छाडेको र उनी सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीनायब उपरीक्षक बृखबहादुर रावलले जानकारी दिए ।
आफू कसरी नेपालगन्ज पुगें भन्नेबारे आफूलाई जानकारी नभएको चन्दले बाँके प्रहरीलाई बताएको रावलले जानकारी दिए ।
मतदाता शिक्षा दिनका लागि कालागौंडी पुगेको अवस्थामा दुईवटा मोटरसाइकलमा आएका नकाबधारी तीनजनाको समूहले चन्दलाई अपहरण गरेर लगेका थिए । चन्दसँगै गएका अर्का व्यक्तिले इलाका प्रहरी कार्यालय झलारीमा चन्द अपहरणमा परेको जानकारी गराएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले अपहरणकारी तथा चन्दको खोजतलास कार्य सुरु गरेको थियो ।