टीपीएस प्रविधि लोकप्रीय बन्दै

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ३:४५ मा प्रकाशित

तौलिहवा, २२ कात्तिक–कपिलवस्तुमा बियाबाट आलु खेती गर्ने टीपीएस प्रविधि लोकप्रीय बन्दै गएको छ । कम लागतमा बढी उत्पादन हुने भएकाले कपिलवस्तुका कृषकहरु टीपीएस प्रविधिमा आकर्षित भएका हुन् ।

खर्च पनि कम लाग्ने र कृषि कार्यालयबाट अनुदानमा बीऊ पनि पाईने भएपछि हरेक बर्ष यो प्रविधिबाट आलु खेती गर्ने कृषकको संख्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कृषि कार्यालयमा टीपीएस प्रविधिबारे जान्न इच्छुक कृषकहरुको दिनहुँजसो भीड लाग्ने गर्दछ ।

यो प्रविधिको आलुको बीऊका लागि कम खर्च लाग्ने, खेतमा कीरा नलाग्ने, भण्डारण र बीऊ उत्पादनमा सजिलो तथा मीठो र स्वादिलो हुने भएकाले यो प्रविधि कृषकहरु माझ लोकप्रीय बनेको कृषि प्राविधिकहरुको भनाइ छ । यो प्रविधिबाट उमारिएको आलुको बीऊको माग समेत बढ्दै गएको छ ।

निग्लिहवा गाविस पचेहराका कृषक रामवृक्ष केवटले टीपीएस प्रविधि प्रयोग गरेर तीन बर्ष आलु खेती गर्दै आएका छन् । उनले यसबाट हरेक बर्ष ५० हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us