आमहड्ताल विफल पार्न सबै सहमत

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते ३:२२ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक–आसन्न संविधानसभा चुनाव बिथोल्ने उद्देश्यले नेकपा–माओवादी नेतृत्वको मोर्चाले गर्ने भनिएको आम हडतालको सर्बत्र विरोध भएको छ । औद्योगिक, व्यापारिक तथा व्यावसायिक संघसंगठनहरुले बन्दलाई सबै मिलेर असफल पार्ने र निर्वाचन सफल पार्न एकजुट हुने निर्णय गरेका छन् ।

जिल्ला सुरक्षा समिति रुपन्देहीले शुक्रबार भैरहवामा गरेको निर्वाचन सुरक्षासम्बन्धी छलफलमा उद्योगी व्यवसायीहरुले चुनाव बिथोल्ने कुनै पनि गतिविधिको विरोध गर्दै बन्दको अवज्ञा गर्ने निर्णय गरेका छन् । उनीहरुले संविधानसभा निर्वाचन सफल पार्ने वातावरण सिर्जना गर्न आफूहरु प्रतिबद्ध रहेको समेत बताए ।

नेकपा–माओवादीसहितको मोर्चाले कात्तिक २५ गतेदेखि गर्ने भनिएको बन्दको अवज्ञा गर्दै अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन यातायात, उद्योग, बजार जस्ता क्षेत्रहरु पूर्ववत् रुपमा सञ्चालन गर्ने र त्यसका लागि सुरक्षा समिति तथा स्थानीय प्रशासनले भरपर्दो र त्रुटिरहित ढङ्गबाट सुरक्षाको प्रबन्ध गर्ने निर्णय पनि भेलाले गरेको छ ।

छलफलमा रुपन्देही उद्योग सङ्घका अध्यक्ष तेजकुमार पाठकले राज्यका तर्फबाट सुरक्षाको भरपर्दो र पूर्ण प्रत्याभूति गर्न सके उद्योगीहरुले आफ्ना उद्योगहरु सञ्चालन गर्न सक्ने बताए । १० दिनसम्म गर्ने भनिएको आम हडतालका बेला कुनै घटना भए तत्काल छनबिन, कारबाही तथा क्षतिपूर्तिका लागि स्थानीय तहबाटै व्यवस्था गर्नुपर्ने उनको माग थियो  ।

नेपाल ट्रक तथा ट्याङ्कर परिवहन महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले निर्वाचन सफल बनाउने अभियानलाई ढुवानी व्यवसायीहरुको पनि पूर्ण साथ रहने बताए ।

छलफलमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले निर्वाचनलाई असफल बनाउने उद्देश्यले गर्ने भनिएको आम हडताललाई असफल पार्न र निर्वाचन शान्तिपूर्ण तथा भयरहित ढङ्गले सम्पन्न गराउन सुरक्षा समितिले विशेष सुरक्षाको प्रबन्ध गरेको जानकारी दिएका थिए ।

उदयपुरमा पनि बन्दको विरोध

उदयपुरका स्थानीय प्रशासन र राजनीतिक दलहरु निर्वाचन विरोधी दलहरुले यही कात्तिक २५ गतेबाट गर्ने भनिएको १० दिने बन्द असफल बनाउन सहमत भएका छन् । जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजनामा जिल्ला प्रशासन, प्रहरी र राजनीतिक दलहरुबीच भएको सामूहिक छलफलमा बन्दलाई सबै मिलेर असफल बनाउने निर्णय भएको हो ।

चुनावी गतिविधि बन्द गर्ने तथा यातायात तथा विद्यालय, बजार, कलकारखाना बन्द गर्ने जो कोहीलाई प्रशासनले पक्राउ गरेर कडा कारबाही गर्ने उदयपुरका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताए ।

छलफलमा यातायात व्यवसायीहरुले आफूहरुले सुरक्षा पाए सवारीसाधनहरु नियमित सञ्चालन गर्ने बताएका थिए । छलफलमा सहभागी जिल्लाका राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन कुनै पनि हालतमा सफल बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । यसैगरी विद्यालयका शिक्षक, उद्योग वाणिज्य सङ्घ तथा व्यापारीहरुले समेत बजार पसल तथा उद्योगहरु नियमित सञ्चालन गरेर निर्वाचन सफल बनाउने प्रतिबद्धता जनाएका छन् ।

छलफल कार्यक्रममा भवानी दल गण नेपाली सेना गाईघाटका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, त्रियुगा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरुलगायत अधिकारकर्मी तथा कार्यालयका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

लम्जुङमा पनि हड्ताल विफल पार्ने निर्णय

यसैगरी लम्जुङमा पनि सर्बपक्षीय बैठकले आमहड्तालको असर जिल्लामा पर्न नदिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङको आयोजनामा भएको सर्बपक्षिय बैठकले आमहड्तालको प्रभाव पर्न नदिने निर्णय गरेको हो ।

बैठकले २५ गतेदेखि हुने आमहड्तालको प्रभाव पर्न नदिन सबै पक्षले सहयोग गर्ने, निर्वाचन आचारसंहिता सबै पक्षले पूर्णरुपमा कार्यान्वयन गर्ने, राजनीतिक दलका प्रचार कार्यक्रम र उम्मेदवारहरुको बास बस्ने स्थानको विवरण प्रशासनमा पेश गर्ने, साँझ ६ बजेपछि देउसीभैलो खेल्न प्रतिवन्ध लगाउने र कुनैपनि घटना वा तयारीबारेको सूचना प्रशासन वा प्रहरी कार्यालयमा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बाबुराम भणडरीले जानकारी दिए ।

यसैबीच पर्वतमा भएको सर्वदलीय र सर्वपक्षीय बैठकले पनि नेकपा–माओवादी नेतृत्वको मोर्चाले आह्वान गरेको १० दिने आमहडताल विफल बनाउने निर्णय गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us