मान्म, २२ कात्तिक–संविधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै कालीकोट जिल्लामा मदिरा बेचबिखनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कात्तिक २९ देखि मंसिर ६ गते अर्थात् संविधानसभाको परिणाम नआउञ्जेलसम्मका लागि पूर्णरुपमा मदिरा बिक्री– वितरणमा रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला निकायको रोहवरमा मदिरा बिक्री–वितरणमा रोक लगाउने निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी किश्वरकुमार चौधरीले पत्रकार भेटघाट कार्यक्रममार्फत मदिरा बिक्री–वितरणमा रोक लगाउने सहमतिअनुसार निर्णय कार्यान्वयन हुने बताए ।
दुई महिनाअघिदेखि मदिराको बिक्री–वितरणमा कडा निगरानी राख्दै कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले पछिल्लो चरणमा अवैध रुपमा बिक्री–वितरणका लागि रोक लगाई इजाजत लिएर मात्र बिक्री गर्न निर्देशन दिएको थियो ।
कालीकोटका ग्रामीण इलाकामा अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री–वितरण गरेका स्थानीय व्यापारीहरुले अहिले पसल दर्ताको क्रम बढाएको बताइएको छ । पसल दर्ताका लागि घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ र कोष तथा लेखा नियन्त्रण कार्यालयमा दिनहुँ भीड लाग्ने गरेको छ ।
आर्थिक वर्ष २०६९–७० मा ८० वटा मदिरा बिक्री–वितरणका लागि पसल दर्ता भएको अवस्थामा यस आर्थिक वर्षको तीन महिनामा ६६ वटा पसल दर्ता भएको कोलेनिका कार्यालयका प्रमुख लोकप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार यसबाट तीन महिनाभित्र चार लाख ७४ हजार राजस्व सङ्कलन भएको छ । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा मदिरा बेचबिखनका लागि इजाजत लिने गरेको भए पनि ग्रामीण इलाकामा भने अवैध मदिरा बिक्री–वितरण हुने गरेको थियो । तर, अहिले सबैभन्दा बढी गाउँका व्यापारीले पसल दर्ता गर्ने गरेको कोष तथा लेखा नियन्त्रक पौड्यालले जानकारी दिए ।
अवैध मदिरा बिक्री–वितरण गरेको खण्डमा उत्पादन गर्नेलाई तीन हजार र प्रयोग गर्नेलाई एक हजार जरिवाना गर्ने गरिन्छ ।