
काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको जोरपाटी नयाँबस्तीमा एकीकृत नेकपा माओवादीका नेता गणेश रेग्मीको घर अगाडि नक्कली बम फेला परेको छ । काठमाण्डु क्षेत्रनम्बर ३ का उम्मेदवार समेत रहेका रेग्मीको घर अगाडि प्रेसर कुकरमा जोडिएको तार सहितको शंकास्पद बस्तु फेला परेको थियो ।
सो बस्तु बम हुनसक्ने आशंका गरी स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए । नेपाली सेनाको बम निष्कृय बनाउने टोली घटनास्थलमा पुगी शंकास्पद बस्तुको परीक्षण गर्दा कुकरभित्र भुस रहेको फेला परेको हो ।
यसअघि एमाओवादी नेता तथा काठमाण्डु क्षेत्रनम्बर ४ का उम्मेदवार नन्द किशोर पुन पासाङको कपनस्थित निवासको गेटमा प्रेसर कुकर बम जस्तै शंकास्पद बस्तु फेला परेको थियो ।
निर्वाचन नजिकिदै गर्दा त्रास फैलाउन नक्कली बम राख्ने गरिएको प्रहरीको भनाइ छ । कुनै शंकास्पद बस्तु फेला परे तुरुन्तै नजिकको सुरक्षा निकायमा खबर गर्न प्रहरीले सबैलाई अनुरोध गरेको छ ।