बौद्धमा कार दुर्घटना हुँदा दुईजनाको मृत्यु, त्रिशुलीमा ट्रक खस्दा चालकको ज्यान गयो

काठमाण्डु टुडे २०७० कार्तिक २२ गते १:५६ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक–काठमाण्डुको बौद्धमा भएको कार दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । दुर्घटनामा कार चालक सिन्धुपाल्चोक मेलम्चीका २९ वर्षीय श्याम कुमार कालिगड र कारमा सवार काभ्रेका ४५ वर्षीय शिव कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाईते सिन्धुपाल्चोक मेलम्चीका ३१ वर्षीय मिन बहादुर कालिगडको चाबहिलस्थित ओम अस्पतालमा उपचार भईरहेको छ ।

चुच्चेपाटीबाट बौद्धतर्फ तीव्रगतिमा जाँदै गरेको अनटेष्ट कार गएराती सडक छेउँमा रहेको एक घरको गेटमा ठोक्किएर दुर्घटना भएको हो ।

त्रिशुली ट्रक खस्दा चालकको मृत्यु

यसैबीच पृथ्वी राजमार्ग अन्तरगत धादिङको कृष्णभीरबाट शुक्रबार विहान मालबाहक ट्रक त्रिशुली नदीमा खस्दा चालकको मृत्यु भएको छ । काठमाण्डुबाट भैरहवा चाँदै गरेको ना ४ ख २१७० नम्बरको ट्रक शुक्रबार विहान ५ बजेतिर दुर्घटना हुँदा धादिङ चरौंदीका ट्रक चालक सुनिल चेपाङको मृत्यु भएको हो ।

राती चरौंदीस्थित आफ्नै घरमा सुतेका चेपाङ विहान उठेर भैरहवातर्फ जाँदै गर्दा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । सडकबाट झण्डै डेढ सय फिट तल त्रिशुली नदीमा खसेको ट्रक पानीमा डुबेको छ । ट्रकमा अन्य व्यक्ति भए–नभएको एकीन भएको छैन । घटनास्थलमा बेनीघाट प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us