काठमाण्डु, २२ कात्तिक–मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले विद्यमान सङ्क्रमणकालीन राजनीतिक अवस्था अन्त्य गरी हालसम्मका सबै संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गरी शासन व्यवस्था सञ्चालन गर्नु आवश्यक रहेको बताएका छन् ।
छठ पर्वको अवसरमा शुक्रबार दिएको शुभकामना सन्देशमा अध्यक्ष रेग्मीले जनचाहनाअनुसारको संविधान निर्माण गरी राष्ट्रलाई शान्ति र विकासको पथमा अग्रसर गराउन मंसिर ४ गतेका लागि निर्धारित संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने अन्तिम तयारी भैरहेको उल्लेख गरेका छन् ।
सन्देशमा लेखिएको छ, ‘स्वतन्त्र र निष्पक्षरूपमा अधिकाधिक जनसहभागिता र समावेशीतासहित शान्तिपूर्ण वातारणमा मङ्सिर ४ गते सम्पन्न हुने संविधानसभा निर्वाचनको मतदान प्रक्रियामा संविधानप्रदक्त आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि चयन गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजूभाइलाई हार्दिक आह्वान गर्दछु ।’
अध्यक्ष रेग्मीले छठ पर्वले आपसी सदभाव, सांस्कृतिक सहिष्णुता र सहकार्यका अभिवृद्धि गरी समस्त नेपालीलाई एकतामा आवद्ध गरोस् भन्ने कामनासहित नेपाली दिदीबहिनी तथा दाजूभाइको सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।