नेपाल–भारत सीमा ४८ घण्टा बन्द गर्ने सहमति

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १६:३९ मा प्रकाशित

पर्सा, २१ कात्तिक–संबिधानसभा निर्वाचन भन्दा दुई दिन अगाडिदेखि नेपाल भारत सीमा बन्द गर्ने सहमति भएको छ । आसन्न संविधानसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रका अधिकारीहरूको बिहिवार सकिएको बैठकमा निर्वाचन सफल बनाउन दुवै राष्ट्रका सुरक्षा अधिकारीबीच सूचना अदानप्रदान गर्ने सहमति भएको भारत बिहार पूर्वी चम्पारण मोतिहारीका जिल्ला प्रमुख श्रीधर सीले जानकारी दिए । वीरगन्जको सीमावर्ती भारतीय सहर रक्सौलमा नेपाल–भारतस्तरीय सीमा समन्वय समिति बैठक भएको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जिल्ला अधिकारी श्रीधरले मङ्सिर ३ गते बिहान ५ बजेदेखि मङ्सिर ५ गते बेलुका ५ बजेसम्म यस क्षेत्रअन्तर्गतका सबै नाका बन्द गर्ने सहमति भएको बताए ।
बैठकमा बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगबाट निस्कने फोहोरका कारण सिर्सिया खोला प्रदूषित हुने गरेकाले छठ पर्वलाई मध्यनजर गर्दै पाँच दिनसम्म उद्योग बन्द गर्न अधिकारीहरूबीच सहमति भएको छ ।
त्यस्तै बैठकमा पर्साको पिडारीगुठी गाविसको ओरिया खोलामा बालुवा गिट्टीको अवैध निकासीलाई नियन्त्रण गर्न दुवै तर्फबाट साझा प्रयास गर्ने, सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई निस्तेज पार्न एकअर्कालाई सहयोग गर्नेलगायतको सहमति भएको छ ।
बैठकमा नारायणी अञ्चलका बारा, पर्सा, रौतहट, चितवन र नवलपरासीका सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारी, भारत बिहार पूर्वी चम्पारण र पश्चिमी चम्पारणका अधिकारीको सहभागिता रहेको थियो ।
बैठकमा पश्चिमी चम्पारण बेतियामा जिल्ला प्रमुख अभयकुमार सिंह, एसएसवीका द्वितीय सेनानायक राकेश सिंह, रक्सौल भन्सारका प्रमुख गणेश यादवलगायत अधिकारीको उपस्थित रहेको थियो । नेपालका तर्फबाट पर्साका प्रजिअ कैलाशकुमार बजिमय, बाराका प्रजिअ दीनेश भट्टराई, नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाललगायतका अधिकारीको उपस्थिति थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us