रेग्मीविरूद्धको रिटको सुनुवाई चुनावपछि

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १२:५२ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– बाधा अड्काउ फुकाउ आदेश तथा मन्त्रिपरिषद् अध्यक्षविरुद्ध सर्वोच्च अदालतमा दायर सातवटा रिट निवेदनमा विहीबार हुने भनिएको सुनुवाइ फेरि मङ्सिर ६ गतेका लागि सारिएको छ ।

न्यायाधीशद्वय तर्कराज भट्ट र ज्ञानेन्द्रबहादुर कार्की देशबाहिर जानुभएका कारण नौ सदस्यीय विशेष इजलास गठन हुन नसकेकाले आजका लागि पेसीमा राखिएको ती रिटको सुनुवाइ सार्नुपरेको प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए ।

कामु प्रधानन्यायाधीश शर्मासहितका न्यायाधीशहरू कल्याण श्रेष्ठ, गिरिशचन्द्रलाल, सुशीला कार्की, प्रकाश वस्ती, वैद्यनाथ उपाध्याय, भरतबहादुर कार्कीसहित देशबाहिर रहनुभएका न्यायाधीशद्वय भट्ट र कार्कीको विशेष इजलासले ती रिटमा सुनुवाइ गर्दैआएको थियो ।

पटक–पटक पेसी सार्दै गत असोज ३ गते प्रारम्भिक सुनुवाइ भएपनि बहस नसकिएकाले हेर्दाहेर्दैको अवस्थामा रहेको ती रिटमा असोज १० गतेका दिन पनि पेसीमा राखेर हटाइएको थियो ।

यसअघि गत भदौ २० गतेको इजलासले सोही विषयमा सर्वोच्चमा दायर २४ वटा रिट निवेदनमध्ये उक्त आदेश जारी भएपछि अधिवक्ताहरू डा. चन्द्रकान्त ज्ञवाली, कञ्चनकृष्ण न्यौपाने, डा. गोपाल सिवाकोटी ‘चिन्तन’, सुवास आचार्य तथा जनसरोकार राख्ने ईश्वरी महतो, अमर केसी र भरतमणि जङ्गमका निवेदनलाई मात्र सुनुवाइका लागि राखी बाँकी १७ वटा निवेदन खारेज गरेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us