आमहड्ताल छोट्याउने वैद्य मोर्चाको तयारी

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १२:०१ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– चर्को दबाबपछि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निर्वाचन प्रभावित पार्ने उद्देश्यले घोषणा गरिएको आमहड्ताल छोट्याउन तयार देखिएको छ ।
वैद्य माओवादीले आगामी २५ कात्तिकदेखि ५ मंसिरसम्म देशव्यापी आमहड्ताल घोषणा गरेको छ ।

CP-Gajurelउपाध्यक्ष सीपी गजुरेलले परिस्थिति हेरेर ३३ दलले घोषणा गरेको आमहडताल छोट्टिन सक्ने बताएका छन् । राजधानीमा बिहीबार भएको एक कार्यक्रममा उनले २५ गतेको बन्दबाटै सरकार निर्वाचन सार्न बाध्य हुने भएकाले त्यसपछि बन्दलाई निरन्तरता दिने आवश्यकता नपर्ने दाबी गरे ।

२५ गतेको बन्दपछि सोही दिन ३३ दलीय मोर्चाको बैठक बसेर आन्दोलनका नयाँ कार्यक्रम तय गरिने उनले बताए  । ‘बन्द पूरै फिर्ता हुँदैन, २५ गतेको बन्द र राजनीतिक परिस्थितिको मूल्याङ्कन गरेर नयाँ रणनीति बनाउँछौ’, गजुरेलले भने, ‘सरकार अहिलेकै रवैयामा अघि बढे बन्दले निरन्तरता पनि पाउन सक्छ ।

निर्वाचन नसर्ने भए बन्द हुन्छ ।’ नेपाली जनताले १९ दिने जनआन्दोलनका बेला १९ दिनसम्मको बन्द स्विकारेकाले १० दिनको बन्द अस्वीकार गर्ने कुरै नआउने दाबी समेत गरे । अर्को एक प्रसंगमा उनले राष्ट्रसंघसहित कुटनीतिक नियोगको वक्तव्यले चुनाव नेपाली जनतालाई भन्दा पनि विदेशीलाई चाहिएको भन्ने आफूहरुको आरोपको पुष्टि गरेको दाबी गरे ।  यसले नेपालको आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय समूदायको हस्तक्षेपको नीति उदाङ्गो भएको टिप्पणी उनको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us