गरीबले जन्माएको संविधानसभा सफल पारौं : प्रचण्ड

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ६:४५ मा प्रकाशित

Prachanda in Birtamode.jpg 2सुनसरी, २१ कात्तिक–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा नारायणहिटी, सिंहदरवारबाट नभई गाउँका झुपडीबाट आएको बताएका छन् । गरीब, उत्पीडित जनताको रगत पसिनाबाट जन्मेको संविधानसभालाई सफल पार्ने जिम्मेवारी तिनै जनताको काँधमा रहेको उनको भनाइ छ ।

मेची महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत विहीबार विहान सुनसरीको लौकहीमा आयोजित जनसभालाई सम्वोधन गर्दै प्रचण्डले संविधानसभाका असली बाहकलाई बहुमत दिएमात्र मधेशी जनताको वास्तविक मुक्ति हुने बताए ।

मधेसवादी दलबाट मधेसी समुदायको मुक्ति सम्भव नहुने भएकाले परिवर्तनको एजेण्डा बोकेको एकीकृत माओवादीलाई मत दिन उनले मधेसी समुदायलाई आग्रह गरे । ‘मधेशी अनुहार भएकाले मात्रै मधेशी जनताको हित गर्ला भन्ठानेर हिजो उनीहरु (मधेसी दल)लाई मत दिनुभयो, एकपटकलाई तपाईको त्यो निर्णय सही नै थियो तर उनीहरुले मधेशी जनताको पक्षमा केही पनि गरेनन्’ प्रचण्डले भने, ‘अब भने तपाईले हिमाल, पहाड, तराई जतासुकैको भएपनि परिवर्तनका एजेण्डा ल्याउने शक्तिलाई बहुमत दिनुपर्छ ।’

सबैभन्दा पहिले आफूले नै मधेशी मुक्ति मोर्चा गठन गरेर मधेसी समुदायको पहिचानको अधिकार स्थापित गरेको चर्चा गर्दै प्रचण्डले आजभोली अरु दलले त्यसैको सिको गरेको बताए । ‘माओवादीले रामराजाप्रसाद सिंहलाई उठाएपछि मात्र काँगे्रसले मधेशी समुदायको राष्ट्रपति बनाएको हो,’ प्रचण्डले भने ।
कोशी बाँध फुटेकोबेला आफू प्रधानमन्त्री हुँदा अढाइसय करोडको राहत प्याकेज दिलाएको, मुस्लिम आयोग गठन गरेको र मदरसा बोर्ड गठन गर्न पहल गरेको पनि प्रचण्डले जानकारी गराएका थिए ।

सभालाई सम्वोधन गर्दै एमाओवादी नेता बाबुराम भट्टराईले पहिचान सहितको अधिकार विरोधीहरुलाई मत नदिन अपील गरे । नक्कली संघीयताका कुरा गरेर दलाली गर्नेहरुलाई नभइ मधेशी मुक्तिको लागि लडिरहने असली संघीयतावादी एकीकृत माओवादीलाई दुईतिहाइ मत दिन भट्टराईले अपील गरे ।
यसैगरी अर्का नेता नारायणकाजी श्रेष्ठले देश विकासकालागि स्थीर सरकार चाहिने र स्थीर सरकारकालागि बहुमत चाहिने भएकाले यसपालीको चुनावमा एकीकृत माओवादीलाई दुई तिहाइ मत दिन आग्रह गरे । पहिचान र अधिकारको लडाई सबैभन्दा धेरै एमाओवादीले लडेकोले उसैलाई बहुमत दिनुपर्ने उनको भनाइ थियो ।

एमाओवादी नेताहरुले विहीबार विहानै सप्तरीको भारदहमा आयोजित सभालाई पनि सम्वोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us