सात सय चौबीस हेक्टरको धान नष्ट

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते ३:५० मा प्रकाशित

Dhanभक्तपुर, २१ कात्तिक–जिल्ला कृषि विकास कार्यालय भक्तपुरले यस वर्ष भक्तपुरका कृषकले लगाएको ७२४ हेक्टर जमिनको धानखेती नष्ट भएको जानकारी दिएको छ । कार्यालयको प्रारम्भिक अनुगमनअनुसार भक्तपुरमा चार हजार ३५२ हेक्टर धानखेती योग्य जमिन रहेकोमा यस वर्ष ७२४ हेक्टरुको धान नष्ट भएको पाइएको कार्यालयका प्रमुख वेदप्रसाद चौलागाईंले जानकारी दिए ।

धेरै धान फल्ने आशामा भक्तपुरका कृषकले लगाएको चाइनाबाट आयातीत डिवाई ६९ जातको धानमा बाला सुक्ने रोगको महामारी फैलिएपछि धानबाली नष्ट भएको थियो । डिवाई ६९ जातको धान लगाएको सबै खेतमा धानको बाला सुके पनि अन्य जातको बीउ रोपिएको धानमा भने रोग लागेको छैन । विगतमा विभिन्न स्थानको खेतमा फरक फरक जातको धान लगाउने धेरै किसानले यस वर्ष भने धेरै धान फलाउन धेरै खेतमा यही धान लगाएका थिए ।

धान बिग्रिएपछि जिल्लाका विभिन्न गाविस र नगरपालिकाका कृषकले स्थानीय निकाय हँुदै जिल्ला कृषि विकास कार्यालयमार्फत नेपाल सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् । जिल्लाभरिका करिब एक हजार कृषकले क्षतिपूर्तिको माग गर्दै आवेदन दिएको र आवदेनलाई कृषि मन्त्रालयमा पेस गरिएको चौलागार्इंले बताउनुभयो ।

सरकारको अनुसन्धानअनुसार भक्तपुरमा डिवाई ६९ जातको धानको बीउ ३६१ हेक्टर जमिनका लागि मात्र काष्ठमण्डप टे«ड प्वाइन्टले बिक्री गरेको रेकर्ड भए पनि ७२४ हेक्टर जमिनका लागि लगाउने बीउ कृषकले कहाँबाट ल्याएका हुन् भन्ने तथ्य खुल्न बाँकी रहेको उनको भनाइ छ ।

जिल्लाका कृषकले करिब १७ करोडबराबरको क्षतिपूर्ति मागेका छन् । प्रमुख चौलागार्इंले भने, ‘जिल्लाका कृषकले माग गरे अनुसारको क्षतिपूर्ति दिने हो भने सरकारले करिब १७ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ, क्षतिपूर्ति कसरी दिने सरकारले गर्ने निर्णय हो, कार्यालयले कृषकले माग गरेको क्षतिपूर्ति विवरण मन्त्रालयमा बुझाइदिएको छ ।’ किसान भने क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयदेखि मन्त्रालयसम्म पुगेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us