
धनगढी, २१ कात्तिक–कैलालीको रामशिखरझाला गाविस ५ जनकपुरमा बुधबार साँझ नेकपा एमालेका कार्यकर्ता र स्थानीय युवा समूहबीच झडप हुँदा दुबैतर्फ गरी १८ जना घाइते भएका छन् ।
पिकनिक खाएर फर्किरहेका स्थानीय युवाहरू र एमाले क्षेत्रनम्बर ४ को चुनावी सभामा सहभागी एमाले कार्यकर्ताहरुबीच झडप भएको हो । पिकनिक टोलीले बजाएको माइकको आवाज कम गर्न एमाले कार्यकर्ताले आग्रह गरेपछि उत्पन्न विवादका कारण झडप भएको बताइएको छ ।
झडपमा एमाले निकट युवा किसान महासंघका जिल्ला कोषाध्यक्ष गोविन्द बुढा, एमाले पूर्वगाउँ कमिटी सचिव बाधुराम चौधरी र युवा संघ गाविस सदस्य मीन बुढा घाइते भएका छन् । उनीहरूको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी रमेश पण्डितले जानकारी दिएका छन् ।