
विराटनगर, २१ कात्तिक– एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचनलाई लक्षित गर्दै शुरु गरेको मेची–महाकाली जागरण अभियान विहीबार पनि जारी छ ।
एमाओवादीले झापाको काकडभिट्टाबाट बुधबार अभियान शुरु गरेको थियो । बुधबार पहिलो दिन विर्तामोड, दमक, इटहरी हुदै मोरङको विराटनगर आएर विश्राम लिएको थियो । विराटनगरको सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्वोधन गरेका थिए ।
विराटनगरबाट केन्द्रीय अभियान टोली सप्तरीको कञ्चनपुर, रुपणी, सिराहाको लहान, गोेलबजार, मिर्चैया, धनुषाको वीरेन्द्रनगर, ढल्केबर, महेन्द्रनगर हुँदै साँझ ६ बजे जनकपुर पुग्ने कार्यक्रम छ । विहीबार बिभिन्न स्थानमा हुने दशवटा सभालाई केन्द्रीय वक्ता टोलीले सम्वोधन गर्ने एकीकृत माओवादीले जनाएको छ ।
आगामी २७ गते सदूरपश्चिमको कैलालीसम्म पुग्दा ५० भन्दा बढी स्थानमा सभा गर्ने र संविधानसभा चुनावमा पार्टीका एजेण्डा मतदातालाई जानकारी गराउने एकीकृत माओवादीले जनाएको छ ।