छठको दोस्रो दिन आज खराना

काठमाण्डु टुडे २०७० कार्तिक २१ गते १:५३ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक–मिथिलाञ्चलको महान् पर्व छठको दोस्रो दिन विहीबार खराना मनाइंदैछ । जसअन्तर्गत व्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका वस्तुहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात् बिना नुनको खानेकुराहरु खाने गर्दछन् ।

त्यस्तै शुक्रबार तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफ्ना घरमा विभिन्न पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् । शुक्रबार रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट शनिवार बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्यबस्तुले अर्घ दिँदै छठ पर्व समापन हुन्छ ।

सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चारदिने छठ पर्व मिथिलाञ्चलसहित देशका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाउने गरिन्छ । छठपर्व मनाउन काठमाण्डुको रानीपोखरी, कमलपोखरी, शोभा भगवती, वागमती, लगायत स्थानलाई विशेष किसिमले सिंगारिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us