
काठमाण्डु, २० कात्तिक–राष्ट्रिय निर्वाचन पर्यवेक्षण परिषद् नेपालले संविधानसभा निर्वाचलाई बहिस्कार गर्दै नेकपा–माओवादीले गर्ने भनेको बन्दले आम नागरिकको दैनिक जीवनमा गम्भीर असर पार्ने भन्दै अविलम्ब सो बन्द फिर्ता दिन अपिल गरेको छ ।
परिषद्का अध्यक्ष सुदीप पाठकले बन्दले रोजगारी, व्यापारलगायत संविधानसभा निर्वाचन २०७० लाई गम्भीररूपमा प्रभाव पार्ने भएकाले बन्द फिर्ता लिन अपिल गरेका हुन ।
उनले निर्वाचन बाहिर रहेका सबै राजनीतिक शक्तिलाई अविलम्ब वार्ताका लागि लिखित आग्रह गरी निर्वाचन प्रक्रियामा सरिक बनाउन र निर्वाचनलाई शान्तिपूर्ण बनाउन परिषद्ले सरकार, निर्वाचन आयोग, चार राजनीतिक दल एवम् जिम्मेवार सबै पक्षसँग आग्रह गरेका हुन ।
यसैगरी ट्रान्सपरेन्सी इन्टरनेसनल–नेपालले बन्दबाट नेपाली सर्वसाधारण जनताको जीवनमा गम्भीर असर पर्ने भएकाले नेकपा–माओवादीलाई बन्द फिर्ता लिई आफूलाई जनताको पक्षमा उभ्याउन आह्वान गरेको छ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले कात्तिक २५ देखि मंसिर ५ गतेसम्म निर्वाचन बिथोल्न बन्द आब्हान गरेको छ ।