राष्ट्रपतिका संभावित उम्मेदवार क्रिस्टी गभर्नरमा विजयी

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १५:०८ मा प्रकाशित

न्युयोर्क, २० कात्तिक–अमेरिकामा रिपब्लिकन पार्टीको बलियो नियन्त्रण रहेको न्यूयोर्क र भर्जिनियाका गभर्नर पदमा मङ्गलबार डेमोक्र्याटिक पार्टीले विजय हासिल गरेको छ । अर्कोतिर आउँदो राष्ट्रपति पदको सम्भावित उम्मेदवारले न्यु जर्सीमा सजिलै यस पदमा दोस्रोपटक विजय हासिल गरेका छन् ।

राष्ट्रपति बाराक ओबामाले गत वर्ष ह्वाइट हाउसमा दोस्रो पदावधिका लागि विजय हासिल गरेपछिको मङ्गलबारको निर्वाचन पहिलो प्रमुख निर्वाचन हो । यो निर्वाचनलाई अमेरिकामा भविष्यमा हुने निर्वाचनका लागि परीक्षणको रूपमा लिइएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो नगर न्युयोर्ककमा पुराना प्रगतिशील बिल डी ब्लासियो सन् १९८९ पछि पहिलो डेमोक्र्याट मेयर भएका छन् । त्यसो त न्यु योर्क सहरलाई डेमोक्र्याट सरहको रूपमा हेरिन्छ ।

यसैगरी डेमोक्र्याट टेरी म्याकलिफले रिपब्लिकनहरूको बलियो नियन्त्रण रहेको भर्जिनियाको गभर्नर पदमा विजय हासिल गरेका छन् । न्यु जर्सीमा रिपब्लिकन गभर्नर क्रिस क्रिस्टीले सजिलै डेमोक्र्याट प्रतिद्वन्द्वीलाई पराजित गरी दोस्रो चार वर्षे कार्यकाल प्राप्त गरेका छन् । राजनीतिक विश्लेषकहरूले गभर्नर क्रिस्टीको यस कार्यकाललाई भविष्यमा राष्ट्रपति पदको उम्मेदवारीका लागि मञ्चको रूपमा हेरेका छन् ।

स्पष्ट बोल्ने क्रिस्टीलाई सुधारवादी रिपब्लिकनको रूपमा हेरिन्छ र उनले गत वर्ष आफ्नो राज्यलाई ठूलो आँधी स्यान्डीले प्रभावित बनाउँदा गरेको कामका लागि प्रशंसा गरिएको छ ।

राष्ट्रिय स्तरमा क्रिस्टीले आफ्नो दलसँग समन्वय कायम गर्न नसकेपनि उनले व्यापक मत प्राप्त गरेको देखिएको छ । उनले आफू अझै व्यवहारवादी नेता हुने बताए ।

क्रिस्टीको व्यवहारवादी कार्यशैली, करिस्मा तथा अन्तरपार्टी सहयोग जुटाउन सक्ने क्षमताका लागि उनलाई सन् २०१६ का लागि राष्ट्रपति पदको उम्मेदवारको रूपमा हेरिएको छ ।

राष्ट्रपति ओबामाले डी ब्लासियो, म्याकलिफ तथा बोस्टनका मार्टिन वाल्सलाई बधाइ दिएका छन । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us