शीर्ष नेतालाई हेलिकोप्टर उडानमा सहमति

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १५:०० मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले अर्काे संविधानसभाको निर्वाचनका लागि आ–आफ्ना पार्टीका चुनावी कार्यक्रममा भाग लिन जानका लागि विभिन्न राजनीतिक दलका नेतालाई हेलिकोप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।
आयोगका प्रवक्ता राईका अनुसार नेपाली काँग्रेसका सभापति सुशील कोइरालाई कात्तिक २७ गते संखुवासभा,सोही पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवालाई कात्तिक २५ र २६ गते डडेलधुरा, बाजुरा, अछाम र बझाङ जान आयोगले सहमति प्रदान गरेको छ ।
त्यसैगरी एकीकृत नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललाई कात्तिक १७ गते सिन्धुली, सोही पार्टीका नेता डा बाबुराम भट्टराईलाई कात्तिक १४ गते हुम्ला, बाजुरा, दैलेख र मुगुमा हेलिकोप्टरबाट जानका लागि सहमति प्रदान गरिएको प्रवक्ता राईले जानकारी दिए ।
यसैगरी नेकपा (एमाले)का नेता केपी ओलीलाई कात्तिक १८ गते दार्चुला र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई कात्तिक २३ गते जाजरकोट, दैलेख र सल्यान जान हेलिकोप्टर प्रयोगका लागि सहमति प्रदान गरिएको थियो । निर्वाचन आचारसंहिताअनुरुप उनीहरुले  हेलिकोप्टर प्रयोगका लागि अनुमति लिन आयोगमा निवेदन दिएका थिए ।
हेलिकोप्टरमार्फत मतदान सामग्री ढुवानी

संविधानसभा निर्वाचनका लागि चाहिने आवश्यक मतदान सामग्री बझाङमा हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ ।
निर्वाचनको समय नजिक आएको र शान्ति सुरक्षाका साथै  यातायातको समस्याले गर्दा आयोगले हेलिकोप्टरमार्फत दूरदराजका जिल्लामा मतदान सामग्री ढुवानी गरेको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले बताए ।
सुर्खेतबाट मतदान सामग्री लिएर आएको हेलिकोप्टर बझाङ बाजुरा र बैतडी जिल्लाका लागि सामग्री ढुवानी गर्दैछ । मङ्गलबार र बुधबार हेलिकोप्टरले सामान ढुवानी गरेको हो ।
मतदानका लागि आवश्यक सामग्री मतपत्र, मतदाता नामावली, मतपेटिका, स्वतिक छापलगायत अन्य आवश्यक सामग्री ढुवानी भई सकेकाले कात्तिक २५ गतेदेखि सामग्री मतदान केन्द्रमा पठाउने काम गरिने प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमिल्सेनाले बताए । उनले भने, “कर्मचारी छनौट र सुरक्षा व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ ।”
जिल्ला निर्वाचन कार्यालयले बुधबार गरेको जिल्लास्तरीय अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारीसहित दुवै क्षेत्रका निर्वाचन अधिकृतले राजनीतिक दलका नेता तथा उम्मेदवार र उम्मेदवारका प्रतिनिधि, सञ्चारकर्मीसहित नागरिक समाज, महिला अधिकारकर्मीसँग निर्वाचन स्वतन्त्र र भयरहित रुपमा सम्पन्न गर्न आ–आफ्नो ठाँउबाट सहयोग गर्ने आग्रह गरेका थिए ।
निर्वाचन आयोगबाट अब मतदाता परिचयपत्र आउन बाँकी छ अन्य सबै सामान आएकाले बिहीबारबाट मतदान अधिकृतसहित अन्य कर्मचारीलाई तालिम दिएर सम्बन्धित मतदान केन्द्रमा पठाउने भएको छ ।
सुरक्षाकर्मी बाहेक मतदान केन्द्रमा यसपाली एक हजार ६६८ जना कर्मचारी खटिने भएका छन् । साथै एक मतदान केन्द्रमा तीन प्रहरी र म्यादीसहित ६ जना प्रहरी र गाविसस्तरमा सेनाको एक क्याम्प रहने भएको छ ।
जिल्लाबाट पनि मोबाइल गस्ती गरिने र आवश्यक भए हेलिकोप्टरबाट पनि सुरक्षाकर्मी पठाइने तयारी भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सेनाले जानकारी दिए ।
निर्वाचन आयोगको अन्तिम नामावलीअनुसार बझाङको निर्वाचन क्षेत्र नं १ मा ४० हजार ३७१ मतदाता र क्षेत्र नं २ मा ४४ हजार ५४१ मतदाता सङ्ख्या रहेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us