
सप्तरी, २० कात्तिक–संविधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ ।
निर्वाचनमा सुरक्षा सम्वेदनशीलता एवम् अपराधिक तत्वको सम्भावित प्रवेशलाई दृष्टिगत गरी बुधवारदेखि निर्वाचनको दिन मङ्सिर ४ गतेसम्मका लागि जिल्लामा भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
निर्वाचनका बेला भारतीय नम्बरप्लेटको मोटरसाइकल प्रयोग गरी अपराधिक समूहहरु नेपाल प्रवेश गर्नसक्ने सम्भावनालाई मध्यनजर गरी भारतीय नम्बरप्लेटको मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।
यसैबीच, सदरमुकाम राजविराजलगायत विभिन्न स्थानबाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ ।
राजविराज, मलेठ, रुपनीलगायतको स्थानबाट नियन्त्रणमा लिएको ५०० लिटर घरेलु मदिरा सञ्चारकर्मीको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय हाताभित्रै नष्ट गरिएको हो । रासस