ढुङ्गेलसहित एमाओवादीका दुईजनाको उम्मेदवारी रद्ध

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १२:४२ मा प्रकाशित

Bal-krishna-dhungelकाठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले एकीकृत नेकपा माओवादीका समानुपातिक उम्मेदवार बालकृष्ण ढुङ्गेल र उशा फकिर शाहाको उम्मेदवारी रद्ध गरेको छ । ढुङ्गेललाई सर्वोच्च अदालतले सर्वस्व सहित जन्म कैद सुनाएको र शाहाले राष्ट्रिय मुस्लिम आयोगको सदस्य पदमा रहेर सरकारी सुविधा लिइरहेकोले समानुपातिकको बन्दसूचीबाट नाम हटाइएको आयोगका प्रवक्ता बीर बहादुर राईले जानकारी दिए ।

यसैगरि आयोगले मतदाता नामावलीमा नाम नभएका ८३ जना, उमेर नपुगेका १ सय ४८, प्रत्यक्ष र समानुपातिक गरि दुवैतर्फ नाम भएका १९ जना, एक भन्दा धेरै पार्टीबाट सिफारिसमा परेका ८२ जना उम्मेदवारलाई आफ्नो र पार्टीको भनाईसहित आयोगमा उपस्थित हुन निर्देशन पनि दिएको छ । सबै गरेर ३ सय ३२ जनालाई थप स्पष्टिकरण सोधिएको आयोगका प्रवक्ता राईले जानकारी दिए ।
हेलिकोप्टर प्रयोग गर्न अनुमति
आयोगले एमाओवादी अध्यक्ष प्रचण्डलाई कात्तिक १७ गते सिन्धुली र सोही पार्टीका नेता बाबुराम भट्टराईलाई कात्तिक १४ गते हुम्ला, मुगु, दैलेख र बाजुरा जानकालागि सहमति दिइएको जनाएको छ ।

यसैगरी नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई कात्तिक २७ गते संखुवासभा जान र सोही पार्टीका बरिष्ठ नेता शेरबहादुर देउवालाई कात्तिक २५ र २६ गते डडेलधुरा, बैतडी, बझाङ, बाजुरा र अछाम जाँदा हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको छ ।

राप्रपा नेपालका कमल थापालाई कात्तिक २३ गते जाजरकोट, दैलेख र सल्यान जाँदा हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको आयोगले जनाएको छ ।

एमाले नेता केपी ओलीलाई भने गएको १८ गते दार्चुला जाँदा हेलिकोप्टर प्रयोग गर्न अनुमति दिइएको आयोगको बुधबारको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी आचार संहिता उल्लंघन गरेको भनि रातो पाटी डटकमलाई स्पष्टिकरण सोधिएको आयोगको आदेशको अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएकाले आइन्दा आचार संहिता उल्लंघनका कुनै पनि काम नगर्न आदेश दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us