शिक्षक सेवा आयोगको नतिजा समयमै नआउने

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ५:१६ मा प्रकाशित

Teachers-Service-Comissionकाठमाण्डु, २० कात्तिक–शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्र्तिका लागि लिएको परीक्षाको नतिजा समयमै प्रकाशित गर्न नसक्ने भएको छ । शिक्षा ऐन अनुसार परीक्षा लिएको ६ महिना भित्र नतिजा प्रकाशन गर्नुपर्ने आयोगलाइ बाध्यता छ । तर, आन्तरिक तयारीमा ढिलाइ भएकाले आयोगले परीक्षाको नतिजा कात्तिक महिना भित्र प्रकाशन गर्न नसक्ने भएको हो ।

‘आयोगको आन्तरीक तयारी पनि ढिलाइ भयो, नतिजा प्रकाशनमा  समय लाग्छ,’ आयोगका अध्यक्ष उदयराज सोतीले भने ।

आसन्न संविधानसभाको निर्वाचनको कारण पनि आयोगको काममा असर पर्ने भएको छ । ‘निर्वाचनमा आयोगको कर्मचारी पनि प्रयोग हुने भयो यसले नतिजा प्रकाशनको मिति पर धकेलिन सक्छ,’ अध्यक्ष सोतीले भने । आयोगले उत्तरपुस्तिका कोडिङको कार्य भने सम्पन्न गरेको छ । उत्तपुस्तिका पहिचान हुन नदिन दुईपटक कोडिङ गरेको सोतीले जानकारी दिए ।

आयोगले गत जेठ ९ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । १३ हजार ५९ पदका लागि देशभरका १८ सय १४ केन्द्रमा परीक्षा भएको थियो । आयोगले प्राथमिक तहको लागि ७ हजार ७ सय ८०, निम्नमाध्यमिकको लागि २ हजार ७ सय ९३ र माध्यमिक तहको लागि २ हजार २ सय ६८ पदमा परीक्षा लिएको थियो ।

यसअघि आयोगले २०५२ सालमा लिएको परीक्षाको नतिजा २०६० सालमा प्रकाशन गरेको थियो । नतिजा प्रकाशनमा २०५२ सालको इतिहास भने नदोहोरिने आयोगले दावी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us