
काठमाण्डु, २० कात्तिक– फोटो सहितको मतदाता परिचयपत्र छाप्न नभ्याएर अस्थायी परिचयपत्र छाप्न शुरु गरेको निर्वाचन आयोगले त्यही अस्थायी परिचयपत्र पनि सबै मतदाताको हातमा पुर्याउन नसक्ने भएको छ । समय अभाव र भौगोलिक विकटताकारण सबै ठाउँका मतदातालाई अस्थायी परिचयपत्र पुर्याउन नसक्ने आयोगको भनाइ छ ।
चुनाव आउन अब १३ दिन मात्रै बाँकी रहे पनि आयोगले अस्थायी परिचयपत्र छपाइको काम जारी राखेको छ । ‘सबै मतदाताको हातमा अस्थायी परिचय पत्र पुर्याउन हामीले प्रयास जारी राखेका छौं,’ आयोगका प्रवक्ता बीरबहादुर राईले भने, ‘परिचय पत्र नपाउने अवस्था आयो भने पनि अरु परिचयपत्रको आधारमा भोट हाल्न पाइन्छ ।’ नागरिकता, सवारी चालक अनुमति पत्र वा राहदानी देखाएर भोट हाल्न पाइने उनको भनाइ छ । उनले छापिइसकेका परिचयपत्र केही दिनमै जिल्लामा पुर्याउने काम शुरु हुने जानकारी दिए ।
चुनाव विरोधी दल वा समूहले अवरोध पुर्याउन सक्ने भएकाले मतदानकै दिन मतदान केन्द्रबाट परिचय पत्र वितरणको व्यवस्था मिलाइएको छ ।
अस्थायी परिचय पत्रको अघिल्लो भागमा मतदाताको व्यक्तिगत विवरण र पछिल्लो भागमा दोस्रो संविधानसभा निर्वाचनबारे उल्लेख गरिएको छ ।