छठ पर्व आजदेखि विधिवत सुरु

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ३:५३ मा प्रकाशित

Devotees perform Chhath puja in Haridwarकाठमाण्डु, २० कात्तिक–मिथिलाञ्चलको महान् पर्व छठ बुधबारबाट विधिवत रुपमा सुरु भएको छ । सत्य, अहिंसा, आरोग्य र समृद्धिको रुपमा मनाइने चारदिने छठ पर्व मिथिलाञ्चलसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ ।

छठ पर्वको पहिलो दिन आज व्रतालुहरुले नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्ने गर्दछन् । छठ पूजाको दोस्रो दिन विहीबार खर्ना मनाइन्छ । जसअन्तर्गत व्रतालुहरुले दिनभरि उपवास बसेर राति खीर, पुरी लगायतका परिकारहरु गृह देवता र सूर्य देवतालाई चढाई अरबा अरबाइन अर्थात बिना नुनको खानेकुराहरु खाने गर्दछन् ।

त्यस्तै यस पर्वको तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफ्ना घरमा बिभिन्न पकवान बनाएर, केरा, स्याउ, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिने गर्दछन् । त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई ती सबै खाद्य वस्तुले अर्घ दिँदै छठ पर्वको समापन गर्ने गरिन्छ ।

छठ पर्व मनाउन व्रतालुहरु नजिकको नदी, तलाउ र पोखरीमा छठ पूजाका लागि घाट अर्थात (पूजा गर्ने स्थान) बनाइरहेका छन् भने कतिपय ठाउँमा केराको थाम र लाखौँ रुपैयाँको पन्डाल तथा रङ्गीचङ्गी बत्तीहरुले सजाउने कार्य गरिरहेका छन् । ठाउँ ठाउँमा छठी माई देवीको भजन गुन्जिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us