तिहारलगत्तै नेताहरु चुनाव प्रचारमा व्यस्त

काठमाण्डु टुडे २०७० कार्तिक २० गते ३:३१ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–तिहारको भाइटीका सकिएसँगै राजनीतिक दलहरुले आफ्नो चुनाव प्रचार प्रसार अभियानलाई पुनः शुरु गरेका छन् । शीर्ष तहदेखि जिल्ला स्तरसम्मका नेता–कार्यकर्ताहरु आ–आफ्नो चुनावी प्रचारमा जुटेका छन् ।

एमाओवादीले तिहार सकिएलगत्तै मेची–महाकाली अभियान शुरु गर्दैछ । त्यसकालागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबै शीर्ष नेता–कार्यकर्ता झापाको काकडभिट्टा पुगेका छन् । अध्यक्ष प्रचण्डले तिहारको भाइटीकाको दिनपनि सिरहामा घरदैलो कार्यक्रम जारी राखेका थिए ।

तिहारको भाइटीकाको दिन बाँकेको नेपालगन्जस्थित दिदी आभादेवी शर्माको घरमा बिताएका नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बुधबार विहानैदेखि घरदैलो कार्यक्रम शुरु गरेका छन् । कोइराला बाँके क्षेत्रनम्बर ३ का उम्मेदवार हुन् । चितवन क्षेत्रनम्बर ४ बाट समेत उम्मेदवारी दिएका कोइराला बाँकेको कार्यक्रम सकाएर एक–दुई दिनमै चितवन जाने उनका सहयोगीले जानकारी दिएका छन् ।

यसैगरी नेकपा एमाले अध्यक्ष झलनाथ खनालले पनि सर्लाही क्षेत्रनम्बर १ मा चुनावी अभियान शुरु गर्दैछन् । मंगलबार भाइटीकाको दिन काठमाण्डुमा विताएका उनले सर्लाहीमा घरदैलो, कार्यकर्ता भेटघाटलगायत कार्यक्रम गर्नेछन् । सर्लाहीको कार्यक्रम सकेर उनी इलामस्थित आफ्नो अर्को निर्वाचन क्षेत्रमा जानेछन् । खनाल इलाम क्षेत्रनम्बर १ का उम्मेदवारसमेत हुन् ।

संविधानसभा चुनाव आउन अब १३ दिन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us