काठमाण्डु, २० कात्तिक–निर्वाचन आयोगले समानुपातिकतर्फ बन्दसूचीमा भएका उम्मेदवारको सम्बन्धमा परेको दावी विरोधको उजुरीमाथि बुधबार निर्णय गर्दैछ । उजुरी परेका उम्मेदवारबारे जाँचबुझ गर्ने र विहीबार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिए ।
आयोगले समानुपातिक तर्फका उम्मेदवारको नाम सार्वजनिक गरेपछि गएको ७ गतेदेखि १३ गतेसम्म उमेदवारउपर उजुरी गर्न समयसीमा तोकेको थियो । आयोगले दिएको एक हप्ताको अवधिमा ७ जना उमेदवारविरुद्ध उजुरी परेको थियो । एकीकृत माओवादीका उम्मेदवारहरु बालकृष्ण ढुंगेल, अनिताकुमारी परियार, धनमाया विक खनाल र हरिराम श्रीपाली, समाजवादी जनता पार्टीका रीता थापा (मगर), नेपाल शान्ति एकता पार्टीका उम्मेदवार विमलालक्ष्मी शाह र उषा साह (फकिर) बिरुद्ध दावी विरोध परेको हो ।
समानुपातिकतर्फ १ सय २२ दलले ११ हजार तीन उम्मेदवारको नाम बन्दसूचीमार्फत आयोगमा पेस गरेका छन् ।