तराईका जिल्लामा छठ भाका गुञ्जिन सुरु

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १:४८ मा प्रकाशित

वीरगन्ज, २० कात्तिक–भोजपुरी भाषाभाषीको बाहुल्यता रहेका मध्यतराईका बारा र पर्सामा यतिबेला छठलोक भाकाले विशेष स्थान लिएको छ ।
तिहारको सुरुसँगै गुञ्जिन थालेको छठ लोकभाका अहिले घरघरमा मात्र होइन, सार्वजनिक ठाउ“मा लाउडस्पिकर राखेरै गुञ्जाउन थालिएको छ, यतिबेला वीरगन्जमा लोकभाका समेटिएका एल्बम, सिडी र भिसिडीको चाङ लागेको छ । “क्रेताको कमी छैन”–बिक्रेता रमेश पटेलले भने–“५०० सिडी पर्व सुरु नहुँदै सिद्धिएकाले थप अर्डर गर्नुपरेको छ ।”
भोजपुरी भाषाभाषीको केन्द्र भए पनि वीरगन्जमा मैथली भाकामा पनि छठ सङ्गीत उपलब्ध छ । छठ लोकभाकाको लोकप्रियताकै कारण यतिबेला स्थानीय केबुल सञ्चालकले दुई च्यानलमा चौबिसै घण्टा छठको म्युजिक भिडियो प्रसारण गरिराखेका छन् । यहाँ सञ्चालित ६ वटै स्थानीय एफएम रेडियोहरुले पनि यतिबेला छठ लोकभाकालाई विशेष स्थान दिने गरेका छन् ।
त्यतिमात्र होइन, छठ लोकभाकाको बढ्दो लोकप्रियतासँगै यहा“का पान पसलदेखि लिएर ठूलाठूला किराना पसल, मिठाई पसल, कपडा पसल र डिपार्टमेन्टल स्टोरहरुमा समेत यतिबेला छठ लोकभाकाकै गीत गुञ्जिने गरेको छ । यस क्षेत्रका प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको वीरगन्ज, कलैया, जितपुर, परवानीपुर, सिमरा, निजगढ, पोखरीया, पथलैया, भिस्वालगायतका बजारमा व्यापारीहरू छठ लोकभाका समेटिएका अल्बम, सिडी र भिसिडीहरू बेचेर राम्रो आर्थिक लाभ लिन सफल भएका छन् ।
यस क्षेत्रमा मात्र अहिलेसम्म झन्डै ४० लाख रुपैयाँभन्दा बढीको छठ लोकभाका समेटिएका अल्बम, सिडी र भिसिडीको बिक्री भएको अनुमान गरिएको छ । आदर्शनगर सङ्गीत पसलका सञ्चालक रमेश अग्रवालले भन्नुभयो–“छठ लोकभाकाको लोकप्रियताकै कारण हामीले छठ पर्व सुरु हुनु एक महिनाअघि देखि नै लाखौँ रुपैया“को छठ लोकभाका समेटिएका अल्बम, सिडी र भिसिडीहरू मगाएर राखेका हुन्छौँ । अहिलेसम्म त्यस्ता अल्बम, सिडी र भिसिडीहरू बेचेर आफूले करिब रु. पाँच लाख आम्दानी गर्न सफल भएको उहाँको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us