बस दुर्घटनामा दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २० गते १:५४ मा प्रकाशित

काठमाण्डु, २० कात्तिक–काठमाण्डु र चितवनमा भएका बस दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाण्डुको सतुङ्गलमा रोकी राखेको बसमा मोटरसाईकल ठक्कर खादा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक सिन्धुलीका ३१ बर्षीय चेतकुमार श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाईते भएकी उनकै श्रीमती कुसुम श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको छ ।

गएराती पौने १० बजे रोकी राखेको ना ३ ख २७३४ नम्बरको बसमा थानकोटबाट कलंकी तर्फ आउँदै गरेको बा ४६ प २०४८ नम्बरको मोटरसाईकल ठक्कर खादा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र चालकलाई प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ । बस चालक फरार रहेकाले खोजीकार्य भईरहेको जनाएको छ ।

चितवनमा दुईवटा बस ठोक्किदा एकजनाको मृत्यु

यसैगरी चितवनको भरतपुरस्थित अवतार पेट्रोलपम्प नजिकै दुईवटा बस एक आपसमा ठक्कर खाँदा एकजना यात्रुको मृत्यु भएको छ भने एकजना गम्भीर घाईते भएका छन् । गएराती १२ बजे पोखराबाट वीरगंज तर्फ जाँदै गरेको ना ४ ख २७४ नम्बरको बस र वीरगंजबाट काठमाण्डु आउँदै गरेको ना ४ ख ६७२८ नम्बरको बस ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ना ४ ख २७४ नम्बरको बसमा सवार नाम थर नखुलेका एकजनाको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर तर्फ लैजादै गर्दा बाटैमा मृत्यु भएको छ । अर्को घाईतेको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us