‘शिर ठाडो पारेर बाँच्न मधेसवादीलाई जिताउ’

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १५:३९ मा प्रकाशित

mahanthaराजविराज, १९ कात्तिक–तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शिर ठाडो पारेर बाँच्न संविधानसभा निर्वाचनमा मधेसवादी दललाई नै बहुमत दिनुपर्ने आवश्यकतामा जोड दिएका छन ।
आफ्नो पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरको चुनावी प्रचारको क्रममा सप्तरीको तिलाठी गाविसमा मंगलवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले त्यस्तो धारणा व्यक्त गरेका हुन ।
‘शिर ठाडो पारेर बाँच्ने अधिकार सबैलाई छ, त्यसका लागि मधेसवादीलाई बहुमतले जिताएर पठाए मात्र त्यो अधिकार सुनिश्चित हुनेछ’ उनले भने, ‘संविधानसभाको निर्वाचनबाट गठन हुने संविधानसभा र त्यसबाट बन्ने संविधानले नै त्यस कुरालाई सुनिश्चित गर्न सक्छ ।’
बहिष्करणमा परेका वर्गको अधिकार र सम्मान नयाँ बन्ने संविधानबाट मात्र सम्भव रहेकोले मधेस र मधेसीको भविष्य निर्धारण गर्न आफ्नो पार्टीलाई जिताउनु आवश्यक रहेको उनको जोड थियो ।
संघीय राज्यको माग आन्दोलनको देन भएको भन्दै उनले पछिल्लो संविधानसभामा सहमति भइसकेका बुँदाहरूलाई आधिकारिता प्रदान गरी अन्य बुँदाहरूमाथि छलफल गरिनुपर्ने बताए ।
तमलोपा तिलाठी गाउँ समितिका संयोजक नागेन्द्र झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार जयप्रकाश ठाकुर, मोतीनारायण मिश्र, बबन झालगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us