एउटा कलमको मूल्य साँढे २९ हजार रुपैया

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १५:३२ मा प्रकाशित

राजविराज,कात्तिक–एउटा कलमको मूल्य कति होला सहजै अनुमान लगाउन सकिन्छ, तर कुनै कलम २९ हजार पाँच सय रुपैयामा विक्री भएको सुन्दा आश्चर्य लाग्ला ।
प्रत्येक वर्ष भाइटीकाको दिन हुने गरेको चित्रगुप्त पूजाको अवसरमा विक्री हुने गरेको कलम यस वर्ष २९ हजार पाँच सय रुपैयामा बिक्री भएको छ । राजविराज–४ निवासी प्रवेशकुमार कर्णले उक्त कलम खरिद गरेका हुन् ।
चित्रगुप्त सेवा समिति राजविराजले प्रत्येक वर्ष चित्रगुप्त भगवानको पूजामा चढाउने गरेको कलम डाँक बढाबढको माध्यमबाट विक्री गर्ने गर्दछ । यसवर्ष कर्णले उक्त कलम खरिद गरेको समितिका अध्यक्ष अशोक कर्णले जानकारी दिए । चित्रगुप्त भगवानको पूजामा चढाइने कलम खरिद गर्ने व्यक्तिले चाँडै आफ्नो क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास रहिआएको छ ।
यसैगरी पूजाको अवसरमा प्रकाशन गरिएको चित्रगुप्त स्मारिकाको राजविराज–४ निवासी जयदेवलाल कर्णले विमोचन गरेका छन । यस्तै समितिले आठ जनालाई विभिन्न छात्रवृत्तिसमेत प्रदान गरेको समितिका अध्यक्ष अशोक कर्णले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us