
काठमाण्डु, १९ कात्तिक–नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी मंसिर ४ को लागि तय भएको संविधानसभाको निर्वाचन रोक्छु भन्नु दिवास्वप्न मात्रै हुने दावी गरेका छन् । अब कसैले निर्वाचन रोक्न नसक्ने उनले बताए ।
‘स्वतन्त्र निर्वाचन लोकतान्त्रिक संविधान’नामको रिपोर्टर्स क्लब नेपालको अभियान अन्र्तगत आयोजित साक्षात्कारमा खनालले नेकपा–माओवादीलाई आमहडताल रोकेर जनताको मतको सम्मान गर्न आग्रह गर्दै त्यसो नगरी कानून हातमा लिएर भाँड्न लागे सरकार कानून अनुसार कारवाही गर्न तयार हुनु पर्ने सुझाव दिए ।
केही छिटपुट घटना गरे पनि सरकारको अन्तरिम सुरक्षा तयारी राम्रो भएको भन्दै सरकार निष्पक्ष, भयरहित र स्वतन्त्र पूर्ण निर्वाचन गर्न सक्षम रहेको खनालको दावी थियो । चुनावपछि एमालेको नेतृत्वमा सरकार गठन हुने र लोकतान्त्रिक संविधान पनि दिने उनले बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले काग्रेस र एमाले नरहेको भनि दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै उनले भने–‘प्रचण्डजी धैर्य गर्नुस् मंसिर ४ पछि को बाघ हुन्छ र को स्याल हुन्छ ?’ खनालले थपे–‘एमाले र काग्रेसको पक्षमा जनमत देखेर प्रचण्ड अत्तालिएर यस्तो कुरा गर्दैछन् ।’ उनले शिर्ष नेताहरुलाई संविधानसभामा ल्याउने चुनावी तालमेलको कुरा राम्रो भए पनि अब सो विषय नेपाली जनताको हातमा गईसकेकोले अब नेपाली जनताले लोकतान्त्रिक तवरले नै त्यस विषयमा आफ्नो निर्णय दिने बताए ।