बंगलादेशमा १५० सैनिकलाई मृत्यु दण्ड(बिस्तृत अपडेटसहित )

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १५:४० मा प्रकाशित

ढाका, कात्तिक–सन् २००९ मा बङ्गलादेशमा भएको सैनिक विद्राहका विषयमा एक अदालतले मङ्गलबार १५० जना सैनिकलाई मृत्युदण्डको निर्णय सुनाएको छ । अदालतले सयौँलाई काराबासको सजायँ तोकेको छ । उक्त विद्रोहमा बीसौँ उच्च अधिकारीको आमहत्या भएको थियो ।
उक्त विद्रोहका विषयमा ८२३ सैनिकमाथि हत्या, यातना तथा तथा अन्य अभियोग लगाइएको थियो । त्यसमा ७४ व्यक्तिलाई मारिएको थियो वा जिउँदै जलाइएको थियो । उनीहरूको शरीरलाई नालीमा बगाइएको थियो वा गाडिएको थियो ।
सैनिकहरूले राम्रो वेतन तथा सुविधा माग गरेका थिए र उनीहरूको मागलाई लामो समयसम्म ध्यान नदिएपछि उनीहरू क्रुद्ध भइ हत्याकाण्डमा उत्रिएका थिए । एक न्यायाधीशले १५० सैनिकलाई मृत्युदण्डको निर्णय दिए ।
कम्तीमा ४०० सैनिकलाई आजीवन काराबाससम्मको सजायँ तोकिएको छ । तीस घण्टे यो विद्रोह बङ्गलादेश राइफल्समा आरम्भ भएको थियो र अन्य केन्द्रमा पनि फैलिएको थियो ।
ढाकाका एक अदालतमा न्यायाधीश मोहम्मद अख्तरुजामनले यातना निकै क्रूर रहेको र मृत शरीरलाई पनि उनीहरूको अधिकार नदिइएको बताए ।
बङ्गलादेशमा विद्रोह, बहुहत्या तथा विद्रोह जस्ता अपराधका लागि मृत्युदण्ड दिइन्छ र यसलाई सामान्य मानिन्छ । न्यायाधीशले अन्य २७० सैनिकलाई भने रिहाइको आदेश दिएका छन ।
अन्य दर्जनौँ  विशेष अदालतले करिब ६ हजार सैनिकलाई दोषी ठहयाइसकेको छ । उक्त विद्रोहमा सेनाका ५७ जना अधिकारीको हत्या भएको थियो ।
आठ सय २३ सैनिकलाई देवानी अदालतमा मुद्दा चलाउन छुट्याइएको थियो । यसअघि उनीहरूलाई सैनिक अदालतले दोषी ठहर गरिसकेको थियो । यस विषयमा २३ अन्य नागरिकलाई पनि आपराधिक षडयन्त्र गरेको आरोप लगाइएको छ ।
विद्रोहमा उकासेको भनी प्रतिपक्षी दलका पूर्व सांसदलाई आजीवन काराबासको सजायँ तोकिएको छ ।
यसअघि विशेष रूपमा बनाइएको अदालतको कक्षमा सिक्रीले बाँधिएका ८२३ जना सैनिकलाई ल्याएर लामो लाइनमा राखिएको थियो र न्यायाधीश अख्तरुजामनले उक्त निर्णय सुनाएका थिए ।
विद्रोहमा मारिएका १० सैनिक अधिकारीको परिवार पनि अदालतमा उपस्थित थिए । विद्रोहका विषयमा अनुसन्धान गरिरहेका अधिकारीले सैनिकले आफ्नो वेतन तथा सुविधा बढाउन गरेको मागलाई अधिकारीहरूले नसुनेको बताएका थिए ।
न्यायाधीशले पनि यस्तो विद्रोह हुननदिन उनीहरूको सुविधा बढाउनु पर्ने बताए । उनले सैनिकले सेनाको स्वामित्वमा रहेको विद्यालयमा आफ्ना बालबालिका पढाउन खर्च तिर्न नसक्ने अवस्था भएको उल्लेख गरे ।
निर्णय सुनाउँदा अदालतमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।
सन् २००९ को विद्रोहमा विद्रोहीहरूले दुई हजार ५०० हतियार लिएर बङ्गलादेश राइफल्सका अधिकारीहरूको वार्षिक बैठकमा प्रवेश गरी उनीहरूमाथि गोली चलाएका थिए ।
उनीहरूले उक्त राइफल्सको प्रमुखको निवासमा गई उनका श्रीमती, घरेलु कर्मचारी तथा अतिथिको हत्या गरेका थिए । उनीहरूले उक्त निवासबाट मूल्यवान वस्तु चोरी आगो निवासमा आगो लगाइदिएका थिए ।
यस मुद्दाका प्रमुख सरकारी वकिल बहरूल इस्लामले यो विश्वमा यस प्रकारको सबैभन्दा ठूलो मुद्दा भएको बताए । यसमा सयौँ प्रत्यक्षदर्शीलाई बयानका लागि बोलाइएको थियो । यसको सुनुवाई सन् २०११ को जनवरीमा आरम्भ भएको थियो भने यस वर्षको अक्टोबरमा अन्त्य भएको थियो ।
इस्लामले ६५४ जना प्रत्यक्षदर्शी भएको बताए ।
न्यु योर्कमा केन्द्रीय कार्यालय रहेको ह्युमन राइट्स वाचले यो मुद्दा निकै ठूलो भएको र सबैले न्याय नपाउने धारणा राखेको छ ।
यस संस्थाका एसियाका निर्देशक ब्राड एडम्सले आरोपित व्यक्तिहरूलाई ठूलो सङ्ख्यामा अदालतमा बोलाउनु र उनीहरूलाई कानुन व्यवसायीको सुविधा पनि नदिनु अन्तर्राष्ट्रिय स्तरको उल्लङ्घन भएको बताए । रासस/एएफपी

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us