बिदेशबाट फर्किएपछि भेडा पालनमा,भेडा पालेर १० लाख आम्दानी

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ११:३२ मा प्रकाशित

म्याग्दी, १९ कात्तिक–म्याग्दीको शिख–४ खोप्रालेकका किसान भेडापालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । विगत १० वर्षदेखि भेडापालन गरिरहेका १५ जना किसानले भेडाभेडी बिक्रीबाटै वार्षिक रु. तीनदेखि १० लाखसम्म आम्दानी गरिरहेका छन् ।
जनैपूर्णिमा मेला, दसैँ, तिहारलगायत अन्य चाडपर्वमा धेरै भेडा बिक्री हुने खोप्रा भेडापालन समितिका अध्यक्ष सकबहादुर तिलिजाले बताए । तिलिजाको गोठमा ३७० वटा भेडाभेडी छन् ।
उमेरले ३० वर्ष पुगेका तिलिजाले आफ्नो बुबाको आम्दानी देखेर भेडापालनमा लागेको बताए ।     “भेडापालनबाट बुबाले वार्षिक रु पाँच लाखसम्म कमाउनुहुन्छ, विदेश गएका साथीहरूको कमाइपनि उस्तै भएकाले गाउँमै काम गरिरहेको छु”– उनले भने ।
उनले चरनक्षेत्रको अभावसँगै चितुवाको आक्रमणबाट क्षति हुने गरेपनि सरकारी निकायबाट कुनै सहयोग नभएको गुनासो गर्नुभयो । जिल्लाका विभिन्न गाविस, मुस्ताङ, बागलुङ, पोखरालगायतका क्षेत्रमा भेडा बिक्री हुने गरेको छ ।
वार्षिक लाखौँ आम्दानी हुने भएपछि विदेश गएका युवासमेत स्वदेश फर्किएर भेडापालनतर्फ लागेको खोप्रा सामुदायिक लजका कोषाध्यक्ष भीम तिलिजाले बताए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us