दक्ष प्राविधिकको लागि अझै विदेशमा भर

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ११:२८ मा प्रकाशित

इलाम, १९ कात्तिक–चिया क्षेत्रमा अग्रणी मानिएको इलाममा दक्ष प्राविधिक अभाव हुँदा विदेशी प्राविधिक ल्याउनु परिरहेको छ ।
सबैभन्दा पहिला चिया खेती सुरू गरिएको यस जिल्लामा समेत भारतका दार्जिलिङ, सिक्किमबाट काम गर्ने प्राविधिक ल्याउनु परिरहेको छ । चिया खेतीमा लामो अनुभव सँगालेका व्यवसायी भए पनि दक्ष जनशक्ति नहुँदा चिया उत्पादन गुणस्तरीय बन्न नसकेको हो ।
विसं १९२० मा तत्कालीन इलामका बडाहाकिम गजराजसिंह थापाले इलाममा चिया खेतीको सुरूवात गरेका हुन् ।
यहा“का दुई दर्जन धेरै ठूला चिया कारखाना र साना चिया कारखानामा भारतीय प्राविधिक कार्यरत छन् । यहाँका निजी तथा सरकारी चिया कारखानामा पनि भारतीय प्राविधिक नै बढी छन् ।
स्थानीयस्तरमा प्राविधिक उत्पादन नभएकाले बढ्दै गएको चियामा पछि गएर समस्या आउने चिया विज्ञ बताउँछन् । बाहिरबाट जनशक्ति ल्याउनुपर्दा खर्चसमेत बढी लाग्ने गरेको सञ्चालकहरू बताउँछन् ।
“नेपालमा दक्ष प्राविधिक नभएपछि बाहिरबाट त ल्याउनै प¥यो नि”–गोर्खा टीस्टेटका प्राविधिक एसके प्रधानले भने “म पनि बाहिरबाटै आएको प्राविधिक हुँ, नेपालमा पनि प्राविधिक भए सहज हुने थियो ।” स्थानीयस्तरमा प्राविधिक उत्पादन हुने हो भने रोजगारीको पनि ठूलो अवसर सिर्जना हुनसक्ने प्रधानको भनाइ छ ।
यो समयस्याले उद्यमी, कृषक र मुलुककै चिया उद्योगमा नकारात्मक असर पर्न सक्ने उनको भनाइ छ । सरकार र चिया कारखाना सञ्चालकहरूले दक्ष प्राविधिक उत्पादन गर्न ठोस कदम उठाउनु पर्ने विज्ञहरूको सुझाव छ ।
गुणस्तरीय चिया उत्पादनका लागि दक्ष प्राविधिक पक्ष आवश्यक छ । बगानबाट हरियो चियापत्ती टिपेर कारखानासम्म ल्याउने र कारखानामा आएपछि प्रशोधन, ग्रेडिङको कामको लागि दक्ष प्राविधिकको आवश्यकता हुने गरेको छ ।
किसानले सामान्य जानकारी लिएको भरमा चिया रोप्ने, काट्ने, टिप्नेलगायतका काम गर्ने गरेका छन् । चिया खेतीका लागि उपयुक्त माटो, हावापानीसमेत अध्ययन नहुने गरेको फिक्कलस्थित चिया विस्तार आयोजनाका भीम निरौलाले बताए ।
किसानले नै चियापत्ती टिप्न, का“टछा“टलगायतका प्राविधिक पक्षमा ध्यान दिने हो तर नगर्नाले गुणस्तरीय उत्पादन गर्न अप्ठेरो भएको आयोजनाका निरौला बताउँछन । “प्राविधिक ज्ञान नभएको र धेरै आम्दानी गर्ने सोचमा डा“ठ नै भा“चेरसमेत ल्याउने गरेका छन्, ठूला व्यापारीदेखि किसानसम्म प्राविधिकको पहुँच पुग्नु जरूरी छ” उनले भने ।
प्राविधिक जनशक्ति उत्पादनका लागि झापाको भद्रपुरस्थित मेची क्याम्पसमा चिया व्यवस्थापनको पढाइ हुने भए पनि सैद्धान्तिक र व्यवहारिक ज्ञान दिने कलेज स्थानीयस्तरमा स्थापना गर्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ । “व्यवहारिक रूपमा अर्थोडक्स चियाको ज्ञान दिएर प्राविधिक उत्पादन गर्न कलेज स्थापना हुनु पर्छ”–सा“खेजुङस्थित हिमालयन साङ्ग्रिलाका व्यवस्थापक आरसी नेपालले भने ।
ठूला कारखानाले दार्जिलिङबाट प्राविधिक ल्याउने गरे पनि साना कारखाना भने किसानकै भरमा चल्ने गरेका छन् । दार्जिलिङका प्राविधिक पनि अनुभवका आधारमा नेपाल आउने गरेको बताउँछन् ।
पूर्वका एक दर्जनभन्दा बढी कारखानामा भारतीय प्राविधिक कार्यरत रहेका छन् । यसैगरी निगम अन्तर्गत इलाम र झापाका चिया कारखानामा पनि भारतीय प्राविधिक नै कार्यरत छन् । दक्ष प्राविधिक नहुँदा उत्पादित चियासमेत गुणस्तरीय नहुने किसानको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us