
चितवन, १९ कात्तिक–पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगरमा बसको ठक्करबाट मंगलबार दिउँसो मोटरसाईकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा रत्ननगर ३ का अन्दाजी ३० वर्षीय व्यापक अधिकारी रहेको प्रहरीले जनाएको छ ।
पर्साको बीरगंजबाट नारायणगढ तर्फ आउँदै गरेको ना ४ ख ७८८५ नम्बरको बसले विपरित दिशा तर्फ गइरेको ना १३ प ८७८६ नम्वरको मोटरसाईकल रत्ननगर ३ गगनगंगा चोकमा दिउसो साँढे २ बजेतिर ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाईते अधिकारीको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिएपछि अनियन्त्रीत भई सोही बसले विपरित दिशामा गई ठक्कर दिदा साईकलमा सवार पिठुवा ६ का ५६ बर्षीय बाबुराम चालिसे घाईते हुनु भएको छ । चालिसेको सामान्य अबस्थामा पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।