नवलपरासीमा सबै निर्वाचन सामग्री पुग्यो

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १०:२२ मा प्रकाशित

परासी, १९ कात्तिक–संविधानसभा निर्वाचनका लागि नवलपरासीमा चाहिने सम्पूर्ण निर्वाचन सामग्री नवलपरासी ल्याइएको छ । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका जिल्ला निर्वाचन अधिकारी नरहरि घिमिरेका अनुसार गत कात्तिक ९ गते मतपेटिका ल्याइएको थियो भने सोमबार समानुपातिक र प्रत्यक्षतर्फका दुवैथरीका मतपत्र ल्याइएको छ ।

प्राप्त निर्वाचन सामग्रीमा बाँंकीरहेका अनुसूची फारम, स्वस्तिक चिन्ह, मुचुल्कालगायतका सामग्री पनि जिल्ला आइपुगेको छ । यी निर्वाचन सामग्रीसंँगै नवलपरासीमा निर्वाचनका लागि आवश्यकपर्ने सम्पूर्ण सामग्री आइपुगेको जिल्ला निर्वाचन अधिकारी घिमिरेले बताए ।

नवलपरासीमा ४५९ वटा स्थायी र तीन वटा अस्थायी गरेर ४६२ वटा मतदानस्थल तोकिएका छन् । सम्पूर्ण मतदान स्थलमा निर्वाचन हुने समयभन्दा ४८ घन्टा अगाडि निर्वाचन सामग्री पुग्नेगरी पठाइने पनि उनले जानकारी दिए ।

त्यसैगरी नवलपरासीमा निर्वाचन गराउनका लागि खटाइने कर्मचारीलाई कात्तिक २२ गतेदेखि तालिम प्रदान गरिने छ । यही कात्तिक २२ गतेदेखि २५ गतेसम्म विभिन्न समूह बनाई कर्मचारीलाई परासीमा तालिम दिइने निर्वाचन अधिकृत घिमिरेको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us