भारतबाट लागू औषध ल्याएर नेपालमा बेच्ने पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ३:४१ मा प्रकाशित

कञ्चनपुर, १९ कात्तिक–लागुऔषधको कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले सोमबार साँझ भीमदत्तनगरपालिकाको जानकी टोलबाट पक्राउ गरेको छ ।
लागुऔषधका रुपमा प्रयोग हुने लुकिजिसी नामक ५० थान औषधसहित भीमदत्तनगरपालिका जानकी टोलमा डेरा गरी बस्दै आएका ३५ वर्षीय पुरुषोत्तम गिरीलाई प्रहरीले डेराबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका गिरीले लामो समयदेखि भारतीय निकटवर्ती बजार क्षेत्रबाट लागु औषध ल्याई यहाँका लागुऔषधका प्रयोगकर्ताहरुलाई बेच्दै आएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अशोक चन्दले बताए ।
गिरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी थप अनुसन्धानको कार्य भइरहेको उनले बताए ।
गत चैतदेखि हालसम्म प्रहरीले लागुऔषधका प्रयोगकर्ता र ओसारपसारमा संलग्न १०० जना लाई पक्राउ गरी कारबाही गरेको छ । कञ्चनपुरमा ३०० भन्दा बढी लागुऔषधका प्रयोगकर्ता र दुई दर्जनभन्दा बढी लागुऔषधको ओसारपसारमा संलग्न व्यक्ति रहेको बताइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us