राप्रपाका पाँच युवा हतियारसहित पक्राउ

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते १२:१० मा प्रकाशित

चितवन, १९ कात्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध पाँचजना युवाहरु घरेलु हतियार सहित चितवनको मेघौलीबाट पक्राउ परेका छन् । मेघौली गाविस वडानम्बर ४ स्थित भंगाचोकबाट उनीहरु खुकुरी, खुँडा, रड लगाएतका घरेलु हतियार सहित पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुको नाम ठेगाना भने प्रहरीले खुलाएको छैन । ‘पक्राउ परेकाहरुमाथि अहिले अनुसन्धान जारी छ,’ एसपी प्रधुम्न कार्कीले भने, ‘उनीहरुको परिचय खुलाउन मिल्दैन ।’ पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान प्रकृया सुरु गरिएको कार्कीले जानकारी दिए ।

स्थानीय होटलमा बसेका ति युवा र ब्यवसायीबीच भनाभन हुदा तनावको स्थिति सिर्जना भएपछि उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घरेलु हतियार फेला परेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गर्दै आएका नौंवटा मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us