मन्त्रिपरिषद अध्यक्ष भन्छन्–मंसिर ४ को चुनाव कसैले रोक्न सक्दैन

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ८:२५ मा प्रकाशित

काठमाण्डु १८ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मङ्सिर ४ गते हुने संविधानसभाको निर्वाचनलाई कसैले रोक्न नसक्ने बताएका छन । khilraj
नेपाल संवत् ११३४ का अवसरमा नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले सोमबार आयोजना गरेको मध्यपुरथिमिको शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा  उनले मङ्सिर ४ को निर्वाचन सफल भएरै छाड्ने बताए ।
निर्वाचन बिथोल्न केही तत्व सक्रिय रहेको आशङ्का व्यक्त गर्दै अध्यक्ष रेग्मीले भने “तथाकथित विभिन्न क्षेत्रका मुठ्ठीभरका केही विज्ञ भनिने व्यक्ति एवम् अधिकारकर्मीलगायतले विभिन्न सञ्चारमाध्यममा निर्वाचनबारे भ्रमपूर्ण अभिव्यक्ति दिइरहेका अवस्थामा भ्रमित नहुन  जनसमुदायलाई आग्रह गर्दछु ।” सञ्चारमाध्यमलाई समेत यस्ता समाचारलाई स्थान नदिन उनले गरेका छन ।
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदातालाई आग्रह गर्दै अध्यक्ष रेग्मीले भने “देशको सङ्क्रमणकालीन अवस्थालाई स्थायित्वमा परिणत गर्नका लागि देशलाई आवश्यक पर्ने संविधान निर्माण गरी शासन सञ्चालन र विकास समृद्धिका लागि संविधानसभा निर्वाचनलाई सफल पार्नु सरकारको एक मात्र लक्ष्य हो, यसका लागि सरकारले प्रभावकारी रुपमा कार्य गरिरहेको छ ।”
निर्वाचनमा सहभागी हुन विभिन्न राजनीतिक दल, नागरिक समाज, सामाजिक सङ्घसंस्था, तथा जनसमुदाय उत्साहित भइरहेकाले सबैलाई आत्माविश्वास र धैर्यका साथ सहभागी हुन उनले आग्रह गरे ।
नेपाल संवत् ११३४ का अवसरमा नेपाल संवत् न्हुदँ राष्ट्रिय समारोह समितिले आयोजना गरेको ‘भिन्तुना समारोह’ लाई काठमाण्डुमा सम्बोधन गर्दै अध्यक्ष रेग्मीले अर्काे संविधानसभा सदस्य निर्वाचन मुलुकको सम्पूर्ण समस्याको समाधानको एकीकृत समाधान हुने बताएका छन ।
राजनीतिक स्थायित्व कायम गरी मुलुकलाई अगाडि बढाउनका लागि आगामी मङ्सिर ४ गतेका लागि निर्धारित निर्वाचनलाई सफलतापूर्वक सम्पन्न पार्नुपर्नेमा उनले जोड दिए ।
निर्वाचनप्रति सकारात्मक भई समयले दिएको एउटा विशेष अवसरलाई सदुपयोग गर्दै आफूलाई प्राप्त संविधानप्रदत्त मताधिकारको प्रयोग गर्न सम्पूर्ण जनसमुदायसँग उनले पुन आग्रह गरे । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सरकारले आवश्यक तयारी पूरा गरेको बताउँदै नागरिकलाई सुरक्षित रुपमा मतदान गर्ने वातावरणको प्रत्याभूतिका लागि सरकारले विशेष सुरक्षा योजना अबलम्वन गरेको अध्यक्ष रेग्मीले जानकारी दिए ।
केही व्यक्ति, समूह, वा बहिष्कारवादीबाट केही सामान्य प्रकृतिका घटनाको त्रास देखाई असुरक्षा महसुस गराउन गरेको दुष्प्रयासलाई सरकारले प्रभावकारी रुपमा अनुसन्धान र अनुगमन गर्दै त्यस्ता कार्यलाई नियन्त्रण र कानुनबमोजिम कारबाही अगाडि बढाइएको समेत उनले बताए । उनले भने “कसैले निर्वाचनमा भाग लिनु वा नलिनु वा बहिष्कार गर्नु उसको निजी कुरा हो, बहिष्कारको नाममा अवाञ्छित एवम् हिंसात्मक गतिविध गर्ने तथा मतदानको अधिकारबाट वञ्चित गर्न अवरोध खडा गरी दुरुत्साहन गर्ने छुट कसैलाई पनि छैन,  यो जनविरोधी कदम हो, जो कदापि क्षम्य हुँदैन ।”
उनले अगाडि भने–“निर्वाचन सफलतापूर्वक सम्पन्न हुने सुनिश्चित भइरहेको बेला अनावश्यक भ्रम सिर्जना गर्ने गरी असान्दर्भिक र तर्कहीन कुरा सार्वजनिक गर्ने प्रयत्न देखिएको छ, जनसमुदायको उत्साह रहेको अहिलेको अवस्थामा भ्रामक अभिव्यक्ति फगत मनगढन्ते रुपमा र  दुराग्रहपूर्ण रुपमा आएको  छ ।”
निर्वाचनको विषय विपरीत आउने कुनै पनि अवाञ्छित कुरामा विश्वास नगरी आत्मविश्वास र धैर्यका साथ निर्वाचनमा सहभागी हुनु अहिलेको राष्ट्रिय आवश्यकता रहेकामा उनले जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us