‘राष्ट्रपति र उपराष्ट्रपतिको भबिश्य दलहरुको हातमा’

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते ७:४७ मा प्रकाशित

Parmananda-Jhaकाठमाण्डु, १८ कार्तिक–उपराष्ट्रपति परमानन्द झाले दलहरुले चाहँदासम्म राष्ट्रपति डा रामबरण यादव र आफु पदमा कायम रहने स्पष्ट पारेका छन् । मुलुक संम्बैधानिक आधारमा सञ्चालन नभएको स्पष्टोक्ति पनि उनले दिएका छन।
“स्वतन्त्र निर्वाचन लोकतान्त्रिक संविधान“ नामको रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियानको साक्षात्कारमा उनले अहिलेसम्म मुलुक संबैधानिक हिसावमा भन्दा पनि राजनीतिक दलको सहमतिको आधारमा चलेको स्मरण गराउँदै दलहरुले चाहँदासम्म आफूहरु पदमा कायम रहने बताए । उपराष्ट्रपति झाले भने‘मुलुकमा संविधानका कुरा एकातिर छन । राष्ट्रपति र दलहरुको निर्णय एकातिर छ । संविधानको आधारमा केही भएको छैन । दलहरुको सहमतिको आधारमा मुलुक अघि बढेको छ त्यसैले दलहरुले चाहँदासम्म हामी पनि रहन्छौ ।’
उनले पछिल्लो पटक संविधान संसोधन संविधान अनुसार नभई  दलहरुको आग्रहको अधारमा भएको बताए । आफूहरुको कार्यकालको विषयमा संविधानमा के लेखिएको छ भन्ने कुराको कुनै अर्थ नहुने उनले बताए । झाले थपे–‘अब भविष्यमा पनि संविधान अनुसार चल्छ जस्तो लाग्दैन ।’
आफ्नो कार्यकालभित्रै संविधान बनोस भन्ने चाहना भए पनि कार्यकाल लम्ब्याउने चाहना आफूहरुको नभएको भन्दै उनले कार्यकाल जे भए पनि संविधानसभाको निर्वाचन समयमै होस भन्ने आफ्नो चाहना ब्यक्त गरे ।
निर्वाचन बहिस्कार गर्ने नेकपा–माओवादीको पक्षमा देश नभएको भन्दै कालान्तरमा उनीहरु आफै बहिस्कृत हुने दावी उनको थियो । झाले भने–‘उनीहरु नआउँदा देशलाई घाटा छैन । उनहिरुलाई नै सबै भन्दा धेरै घाटा छ । जनताको अधिकारलाई बहिस्कार गर्ने हरुले आफूले आफैलाई बहिस्कार गरेका हुन ।’
उनले विगतमा बहिस्कार गर्दा मोहन बैद्यले प्रचण्डलाईं नेता बनाएको स्मरण गर्दै अब प्रचण्ड पनि नभएको, फेरि उनीहरुको नेतालाई सबैले चिनिसकेको र जनताले पनि द्धन्दको अनुभव लिइसकेकोले अब निर्वाचन बहिस्कारकै कारण द्धन्द सुरु हुन नसक्ने तर्क गरे ।
दलहरुले प्रयास गर्दा गदै माओवादी निर्वाचनमा नआउनु मुलुक सँगै बहिस्कार गर्ने दलको लागि पनि दुर्भाग्य पुर्ण भएकोले अब निर्वाचन पछि पाँच वर्षसम्म माओवादीले के गर्छ भनि उपराष्ट्रपति झाले प्रश्न गरे । उनले भने–नेपाली जनता १२२ दलका साथ निर्वाचनमा छन् अब एउटा दलले ब्यवधान गर्दैमा निर्वाचनमा असर पर्दैन ।
नेपाली जनता, दल र अन्तर्राष्ट्रिय शक्तिहरु निर्वाचन हुनेमा विश्वस्त रहेको र सरकारले पनि आफ्नो जिम्मेवारी अनुसार कर्तब्य निर्वाह गरेकोले अब निर्वाचन तोकिएकै मितिमा हुने दावी गर्दै उनले निर्वाचन हुनेमा मुलुकमा कुनै अडचन नरहेको बताए ।
विगतमा सिकेको पाठ, असफलता र जनताप्रति गरेको क्षमायाचनाका कारण पनि दलहरुले धेरै हण्डर खाईसकेकोले अब संविधान बन्नेमा उनको विश्वास थियो । उनले शिर्ष नेताहरुको महत्व मधेसका जनताले चिनेकोले शिर्ष नेताहरुलाई चुनाव जिताउने विश्वाससमेत ब्यक्त गरे ।

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us