हिंसात्मक गतिबिधि नगर्न बैद्यलाई आग्रह गर्दै निर्वाचन सफल बनाउन दृढतापूर्वक अघि बढने सत्ता पक्षको निष्कर्ष

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते १६:५८ मा प्रकाशित

काठमाण्डु कात्तिक–संबिधानसभा निर्वाचन बिरोधी गतिबिधि बढदै गएको अवस्थामा उच्चस्तरिय राजनीतिक समिति र मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी वीच नेकपा–माओवादीलाई हिंसात्मक गतिबिधि नगर्न आग्रह गर्दै घोषित मितिमा निर्वाचनलाई सफल बनाउन दृढतापूर्वक अघि बढने समझदारी भएको छ ।
अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले निर्वाचन बिथोल्ने गरी कात्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि घोषणा गरेको १० दिने आम हडताल फिर्ता लिन आग्रह गर्ने निर्णय पनि सत्ता पक्षका वीचमा भएको एक नेताले बताए । ती नेताले काठमाण्डु टुडेसँग भने‘निर्वाचनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक शक्ति दृढतापूर्वक अगाडि बढने समझदारी भएको छ ।’
संबिधानसभा निर्वाचनको मिति नजिकिदै गएको अवस्थामा नेकपा–माओवादीले बढाउदै लगेका हिंसात्मक घटना,सर्वमान्य सहमति खोजेर निर्वाचनमा जान सुरक्षा परिषदले सरकारलाई दिएको सुझाव,निर्वाचन तयारी,सुरक्षाको अवस्थाका वारेमा छलफल भएको बुझिाएको छ ।

अध्यक्ष रेग्मीको सचिवालयका अनुसार उक्त बैठकले संविधान सभाको निर्वाचनको तयारीको समग्र मूल्याङ्ककन गर्दै निर्वाचनमा सहभागी भएका राजनैतिक दलहरुवीचको प्रतिश्पर्धा स्वस्थ हुनुपर्ने र निर्वाचनलाई राष्ट्रिय अभियानको रुपमा लिई सम्पत्र गर्ने निश्कर्ष निकालेको छ । संविधान सभाको निर्वाचन बहिष्कार गर्ने दलहरुले संविधान सभाको निर्वाचनलाई लक्षित गरि मतदान गर्ने नागरिकको अधिकारलाई कुण्ठित हुने गरि कुनै किसिमको बन्द, हडताल, हिंसात्मक गतिविधि नगर्न नगराउन बैठकले आव्हान गरेको सचिवालय जनाएको छ । ‘त्यस्तो काम कारवाही निर्वाचन आयोगबाट जारी भएको आचार संहिता र प्रचलित कानून विपरित हुने भएकोले त्यस्तो काम कारवाही उपर कानून बमोजिम कारवाही हुनुपर्ने कुरामा जोड दिइएको छ’अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पाण्डले भने ‘छलफलका क्रममा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले सरकार उल्लिखित समग्र स्थितिको मूल्याङ्कन गर्दे संविधान सभाको निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखी दृढतापूर्वक लागि परेकोले निर्धक्क भएर संविधान सभाको निर्वाचनमा भाग लिन आम जनसमुदायलाई आग्रह गर्नु भएको छ ।’

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले केही प्रमुख दलका पदाधिकारीसँग आसन्न संविधानसभाको निर्वाचनको विषयलाई लिएर परामर्श बैठकको आयोजना भएकोमा हालसम्म सरकारले निर्वाचनका बारेमा गरेको तयारीबारेमा छलफल भएको जानकारी दिए । उनले निर्वाचनमा सहभागी दलहरुबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बैठकले निष्कर्ष निकालेको बताए । “निर्वाचनलाई लक्षित गरी केही राजनीतिक दलले बन्द, आमहडताल जस्ता कार्यक्रम गरेको सम्बन्धमा पनि बैठकको ध्यानकर्षण भयो, यस्तो प्रक्रियाबाट शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचनमा प्रतिकूल असर पर्न सक्ने, मतदान गर्ने नागरिकको अधिकार कुण्ठित हुन सक्ने भएकाले त्यस्तो काम नगर्न गराइदिन हुन् आह्वान गर्ने समझदारी भएको छ,” सञ्चार मन्त्री पौडेलले भने ।
त्यस्तो काम कारबाही भएको अवस्थामा नागरिकको मतदान गर्ने अधिकारलाई कुण्ठित हुन् सक्ने भएकोले त्यसमा सरकारले कानुनबमोजिम कारबाही गर्न सक्ने अवस्था आउन सक्ने ध्यानकृष्ट भएको पनि मन्त्री पौडेलले बताए ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले सरकारको तर्फबाट शान्तिपूर्ण र निर्विघनतार्पूक मङ्सिर ४ गतेको संधिवानसभा निर्वाचन गर्ने काममा सरकार प्रतिबद्ध छ भनेर आश्वस्त पार्ने काम भएको बताए । सुरक्षा परिषदको प्रतिवेदनका वारेमा आफूले सरकारको ध्यानाकर्षण गराएको पौडेलले बताए । ‘त्यसले भ्रम पैदा गर्ने काम भएको छ त्यो नहोस् भन्ने कुरा हामीले राख्यौ’ पौडेलले भने ‘ अहिले देशको सर्वमान्य विषय भनेको चुनाव नै हो, चुनावबाहेक नेपाली जनताले मान्ने सर्वमान्य विषय अरु केही होइन जसरी पनि चुनाव सम्पन्न गर्नुपर्छ ।’
“निर्वाचनमा देश र जनताअघि बढेकाले चुनावमा अघि बढिसकेको देश र जनतालाई रोक्ने र जनताको  मताधिकार प्रभावित गर्ने काम कसैले पनि गर्न हुँदैन,” उपसभापति पौडेलले भने‘बन्द ठीक छैन त्यो देशको हित विरुद्ध, निर्वाचन आचारसंहिताविरुद्ध हो । शान्तिपूर्णको नाउमा जनताले आफ्नो मत प्रयोग गर्ने  अधिकारलाई दबाब बदलिएर नकारात्मक प्रभावित गर्ने काम राष्ट्रको हितमा छैन ।’
नेकपा (एमाले)का उपाध्यक्ष विद्या भण्डारीले चुनावलाई भयरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गराउन सबै दलका नेतालाई मन्त्रिपरिषद्का अध्यक्षले आग्रह गरेको बताइन । ‘चुनाव समयमै हुन्छ जनतामा एकदम उत्साह छ भन्दै सबै पार्टी जो चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् उनीहरु उत्साह साथ चुनावमा सहभागी छन्’उनले भनिन    “चुनावमा मतदाता भाग लिन चाहन्छन् भने बन्द, हडताल र छेकथुन गर्न पाइँदैन, सरकारले निर्वाचन सम्पन्न गराउन सम्पूर्ण ढङ्गले तयारी गरिरहेको छ,।”
सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले चुनावमा सहभागी दलबीच पनि  ५५ ठाउँमा विभिन्न घटना भएको बताउँदै सहभागी दलबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा बैठकले जोड दिएको बताए ।
अध्यक्ष रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा बैठकमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल,नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल,महामन्त्री प्रकाशमान सिंह,एमाले उपाध्यक्ष बिद्या भण्डारी,संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छार सहभागी थिए ।

यसअघि एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड र मन्त्रिपरिषद अध्यक्ष रेग्मी वीच पनि निर्वाचनकै बिषयमा छलफल भएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us